बिजुली सदुपयोग गर्ने रणनीति बनाऊ, आत्मनिर्भर बनाैं


काठमाडाैं – वर्षायाममा बढी भएको बिजुली खेर जान नदिन सरकार तथा प्राधिकरण दुवैसँग कुनै ठोस योजना छैन । पछिल्ला वर्षहरूमा नेपालमा निजी क्षेत्रले विद्युत् विकासमा हात हालेपछि बिजुली उत्पादन बढेको छ ।

अपेक्षाकृत रूपमा बढ्न नसके तापनि पछिल्ला वर्षहरूमा बढेको बिजुलीको उत्पादनलाई ध्यानमा राखेर नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्ष २०७७-७८ भित्र ८ सय २५ मेगावाट विद्युत् थप हुने प्रक्षेपण पनि गरेको छ । हुन त प्राधिकरणले चालू आर्थिक वर्षभित्र १ हजार मेगावाट थप हुने लक्ष्य राखेको भए तापनि पछिल्लो समयमा भएका बाधा–अवरोधलाई विचार गरेर २३ वटा जलविद्युत् आयोजना निर्माण सम्पन्न भएर ८ सय २५ मेगावाट विद्युत् थप हुने प्रक्षेपण गरेको हो ।

यसरी प्राधिकरणकै तथ्यांकलाई हेर्ने हो भने हाल १३ सय ६० मेगावाट क्षमता रहेकोमा चालू आर्थिक वर्षभित्र उत्पादन थपिएपछि २३ सय मेगावाट पुग्ने देखिन्छ । तर, प्राधिकरणकै प्रक्षेपणअनुसार माग भने बढीमा १५ सय ५० मेगावाटको हाराहारीमा मात्र छ ।

यसरी आगामी वर्षा सिजनमा प्राधिकरणकै माग र आपूर्तिको अवस्थालाई हेर्दा १ सय ६ सय मेगावाटको कुलेखानी जलाशयबाहेक पनि ६ सय मेगावाट खेर जाने अवस्था सिर्जना भएको छ । हुन त प्राधिकरणले ५ सय ५० मेगावाटसम्म खेर जान सक्ने आकलन गरेको छ ।

तर, पनि वर्षायाममा बढी भएको बिजुली खेर जान नदिन सरकार तथा प्राधिकरण दुवैसँग कुनै ठोस योजना छैन । गत वर्ष पनि प्राधिकरणले वर्षाको रात्रिकालीन समयमा २ सयदेखि २ सय ५० मेगावाटसम्म बिजुली खेर गएको उल्लेख गरेको थियो । हाल हिउँदमा भारतबाट ६ सय मेगावाटको हाराहारीमा आयात गरेर लोडसेडिङको अन्त्य गरेको प्राधिकरणले आउँदो वर्षाको रातिको समयमा भने खेर फाल्नुपर्ने अवस्था आउनु पक्कै दुःखद हो ।

तसर्थ, तत्काल बिजुली व्यापारका लागि विशेष पहल गर्नु तथा माग र आपूर्तिको प्रक्षेपणअनुसार उत्पादन व्यवस्थित गर्नु प्राधिकरणको कमजोरी हो भने बिजुली उत्पादनमा रहेका समस्या समाधान गरी बिजुलीका आयोजना निर्माणमा निजी क्षेलाई सहजीकरण गर्न नसक्नु सरकारको कमजोरी हो ।

एकातिर प्राधिकरणलाई चालू आर्थिक वर्षमा कति बिजुली उत्पादन हुन्छ भन्ने यकिन छैन भने अर्कातिर बजारको खोजी गर्ने कि नगर्ने अलमल छ । विविध कारणवश विद्युत् आयोजनाहरू समयमा नै निर्माण सम्पन्न हुन नसक्नु त छँदै थियो, त्यसमाथि चालू आर्थिक वर्षमा कोरोनाका कारण पनि केही विद्युत् आयोजनाको काममा प्रत्यक्ष असर परेको छ, जसका कारण चालू आर्थिक वर्षको ६ महिनामा जम्मा ३० मेगावाट मात्र उत्पादन भएको छ ।

प्राधिकरणले चालू आर्थिक वर्षको बाँकी अवधिमा ७ सय मेगावाट थप हुने अपेक्षा गरेको छ, तर फेरि पनि ढुक्क हुने ठाउँ छैन । त्यसैले प्रक्षेपणअनुसार नै बिजुली उत्पादन भएर बिक्री गर्न नसकेको अवस्थामा बिजुली खेर जाने निश्चित छ । नेपालको बिजुलीको बजार सर्वप्रथम भारत नै हो ।

त्यसपछि योजनाअनुसार नेपाल भारत तथा बंगलादेशको संयुक्त प्रयास सफल भएमा बंगलादेश पनि नेपालको बिजुलीको बजार हो । बंगलादेशले लामो समयदेखि नेपालको बिजुली आयात गर्न आफैंले नेपालको जलविद्युत् आयोजनामा लगानी गर्ने इच्छा पनि देखएको छ । तर, विविध कारणवश नेपाल, भारत तथा बंगलादेशको संयुक्त लगानीको आयोजनाको वातावरण बन्न सकेको छैन ।

यसमा पनि सरकारले जति छिटो सहजीकरण गर्छ, त्यति नै नेपालको बिजुलीको बजार निश्चित हुन्छ । भारत तथा बंगलादेशबाहेक सरकारले आन्तरिक बजारमा बिजुलीको खपत बढाउन योजना बनाए तापनि त्यसमा पनि आफ्नै बजेटमार्फत तगारो तेस्र्याएको थियो ।

त्यसैले सरकारले आन्तरिक बजारमा खपत बढाउन विद्युतीय गाडी प्रवद्र्धन गर्नुप-यो, भारत तथा बंगलादेशमा बिजुली निर्यातका लागि पर्याप्त तयारी गर्नुप-यो र निजी क्षेत्रलाई पनि बिजुली बेच्न सहजीकरण गर्नुप-यो । अन्यथा सरकार नेपाललाई सधैं बिजुलीको आयातमा मात्रै निर्भर बनाउने तर बढी भएको बिजुली खपत पनि गर्न नसक्ने अनि बेच्न पनि नसक्ने र प्रत्येक वर्ष अर्बौं खेर फाल्ने आत्मघाती खेलमा लागेको स्पष्ट देखिन्छ ।

प्रतिक्रिया