

डेढ क्विन्टल बढी गाँजासहित ट्रकका सहचालक पक्राउ, चालक फरार

हेटौंडा – मकवानपुरको मनहरी–९ ज्यामिरेमा रोकिराखेको ना. ६ ख ४५२० नम्बरको ट्रकबाट १ सय ५८ किलो लागूऔषध गाँजा बरामद भएको छ ।
गएराति सशस्र प्रहरी बल पोष्ट कत्लेखोलाको गस्ती टोलीले रोकिराखेको ट्रक चेकजाँच गर्ने क्रममा क्याबिनबाट १ सय ५८ किलो (१२) वटा कार्टुनमा प्याक गरिएको अवस्थामा गाँजा बरामद गरेको हो ।
प्रहरीले ट्रकको चालक र सहचालकको खोजी गर्नेक्रममा गएराति नै सोही स्थाननजिकैबाट थाहा–३ का विशाल गोपालीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी टेकबहादुर कार्कीले जानकारी दिए ।
उनका अनुसार ट्रक जिल्लाकै थाहा नगरपालिकाबाट मनहरी आएको थियो । तर, गाँजा कहाँ लगिएको खुलेको छैन । ट्रकका चालक फरार रहेको र खोजी भइरहेको डीएसपी कार्कीले बताए ।

