

चितवन-२ मा उपनिर्वाचन कहिले, फेरि आउलान् रवि लामिछाने ?

काठमाडौं – प्रतिनिधि सभातर्फ चितवन क्षेत्र नं २ रिक्त भएको छ । सर्वोच्च अदालतले रवि लामिछानेको सांसद पद खारेज गरेपछि यो क्षेत्रमा अब उपनिर्वाचन हुने भएको हो। सर्वोच्चले औपचारिक जानकारी गराएपछि सरकारसँग परामर्श गरेर उपनिर्वाचनको प्रक्रिया शुरु गर्ने निर्वाचन आयोगले जनाएको छ ।
उपनिर्वाचन कहिलेसम्म गर्ने भन्नेबारे कानुनमा स्पष्ट व्यवस्था छैन । गएको मंसिर ४ गते भएको चुनावमा चितवन क्षेत्र नं २ बाट लामिछाने विजयी भएका थिए । उनले एमालेका कृष्णभक्त पोखरेल र कांग्रेसका उमेश श्रेष्ठलाई पराजित गरेका थिए । चितवन–२ मा हुने उपनिर्वाचनको लागि उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा पनि चर्चा शुरु हुन थालेको छ । कतिपयले रवि लामिछाने फेरि उपनिर्वाचनबाट निर्वाचित भएर आउने आंकलन गरेका छन् ।
सत्तारुढ दलभित्र मिलेर उम्मेदवारी दिने कि मित्रवत प्रतिस्पर्धा गर्ने भन्ने विषयमा अनौपचारिक छलफल शुरु भएको छ । लामिछानेले चुनावका समयमा प्रयोग गरेको नागरिकतालाई सर्वोच्चले मान्यता नदिएपछि उनको सांसद पद गुमेको हो । सर्वोच्चको आदेशलगत्तै लामिछानेले मन्त्रीबाट राजीनामा पनि दिइसकेका छन् ।

