

सुवास नेम्वाङ भन्छन् – राष्ट्रपतिमा मेरो ठूलो आकांक्षा छैन

काठमाडौं – नेकपा एमाले उपाध्यक्ष सुवास नेम्वाङले पार्टीले जसलाई चुन्न उही नै राष्ट्रपति बन्ने बताएका छन्। संसद भवन बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै नेम्वाङले राष्ट्रपति उम्मेदवार पार्टीले चयन गर्ने र त्यही अन्तिम हुने बताए।
सञ्चारकर्मीले तपाईं राष्ट्रपति हुनुहुन्छ भन्ने प्रश्नमा नेम्वाङले भने,’नेपाली जनताका छोराछोरी जोपनि राष्ट्रपति बन्न सक्छन्। व्यक्तिगतरुपमा मेरो ठूलो आंकाक्षा छैन।पार्टीले जे निर्णय गर्छ। त्यो सर्वोपरी हुन्छ।’
सत्ता साझेदार दलबीच भएको भागण्डामा सभामुख र राष्ट्रपति एमालेको भागमा परेको छ। जसअनुसार एमालेले सभामुख पाइसकेको छ भने राष्ट्रपतिको पदावधि फागुनमा सकिदैछ।
प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि राष्ट्रपति पदका लागि उम्मेदवार उठाउने तयारी गरेको छ।
यस्तै, आज बसेको संसद बैठकले प्रतिनिधि सभाको सभामुखमा एमालेका देवराज घिमिरेलाई चयन गरेको छ। सत्ता साझेदार दलका उम्मेदवार घिमिरेले १६८ मत प्राप्त गरी सभामुख बनेका हुन्। उनका प्रतिपक्षी नेपाली कांग्रेस उम्मेदवार ईश्वरीदेवी न्यौपानेले १०० मत प्राप्त गरिन्।
घिमिरे झापा-२ बाट प्रतिनिधिसभाको सदस्यमा निर्वाचित सांसद हुन्।
उपसभामुखको निर्वाचन भने माघ ७ गतेलाई तोकिएको छ।

