


जीवित शिशुलाई मृत घोषित गर्ने कोशी अस्पतालका ३ स्वास्थ्यकर्मी निलम्बित

काठमाडौं – जीवित शिशुलाई मृत घोषणा गर्ने विराटनगर कोशी अस्पतालका तीन स्वास्थ्यकर्मी निलम्बनमा परेका छन्।
अस्पताल प्रशासनले डा। आकाश यादव, दुई पारामेडिकल अफिसर टिका अधिकारी र लक्ष्मण माझीलाई ७ दिनका लागि निलम्बन गरेर घटनाको छानबिन सुरु गरेको हो।
डा. यादवले हिजो (बुधबार) उपचारका लागि कोशी अस्पताल ल्याइएकी १८ दिने जीवित शिशुलाई मृत घोषणा गरेका थिए । जहदा–३ भाथीगछका दिलीप मुखियाले उपचारका लागि अस्पतालको आकस्मिक कक्षमा ल्याएका थिए । डाक्टर यादव नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले शिशुको उपचार नै नगरी शिशुलाई मृत घोषणा गरिदिएको पीडित पक्षको आरोप छ ।
पारामेडिकल यादवलाई २४ घण्टे स्पष्टीकरण माग्दै ७ दिनका लागि निलम्बन गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा।. लक्ष्मीनारायण यादवले बताए ।
निलम्बनमा परेका स्वास्थ्यकर्मीहरूमाथि छानबिनका लागि अस्पतालले बिहीबार छानबिन समिति समेत गठन गरेको छ । अस्पतालका बालरोग विशेषज्ञ डा. प्रविण झाको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको अस्पतालले जनाएको छ ।

