
सञ्चारमन्त्री रेखा शर्माद्वारा पद बहाली
काठमाडौं – नविनयुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पद बहाली गरेकी छन् । आज राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएलगत्तै सिंहदरबारमा पुगेर उनले पदभार ग्रहण गरेकी हुन् ।
पदभार ग्रहण गर्दै मन्त्री शर्माले ‘सञ्चारको पहुँच सुनिश्चित गराउने’सम्बन्धी कार्यक्रमको विद्युतीय माध्यमबाट सुरुआत गरे । उनले सञ्चार तथा प्रविधिको सेवालाई देशव्यापी बनाउनेतर्फ आफ्नो विशेष सक्रियता हुने बताइन्।
देशभर सञ्चारसेवालाई सर्वसुलभ, पहुँचयोग्य बनाउने र त्यसका लागि सबैसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् । आफू नयाँ क्षेत्रमा आएको भन्दै मन्त्रालय र मातहतका सबै निकायको यथेष्ट जानकारी लिएर यसभित्र रहेका समस्या समाधान गर्ने उनको भनाइ छ ।
पदभारपछि सञ्चारकर्मीसँगको सङ्क्षिप्त कुराकानी गर्दै उहाँले पार्टीले दिएको जिम्मेवारीलाई पूर्णरुपमा कार्यान्वयन गर्ने र त्यसमा सबैको साथ तथा सहयोग जरुरी रहेको बताइन् । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति सदस्य शर्माले गत मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा नेकपा ९एमाले० का महासचिव शङ्कर पोख्रेललाई पराजित गर्दै विजयी भएकी थिइन् ।
विसं २०७० र २०७४ मा प्रतिनिधिसभामा समानुपातिक सदस्यका रुपमा निर्वाचित भएकी उनी २०७२ साल कात्तिकदेखि २०७३ कात्तिकसम्म सामान्य प्रशासनमन्त्रीको जिम्मेवारीमा रहेकी थिइन् ।
विसं २०२६ असोज ९ गते घोराहीको मसिनामा बुबा गिरिराज शर्मा र आमा पार्वती शर्मा पौड्यालको कोखबाट जन्मिएकी उनले २०४२ सालदेखि राजनीतिक यात्रा सुरु गरेकी हुन् । विसं ०४२/४३ देखि अनेरास्ववियुको स्कुल इकाइ कमिटीबाट विद्यार्थी राजनीति होमिएकी उनी अखिलको जिल्ला उपाध्यक्ष, २०४८ सालमा अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी)को दाङ अध्यक्ष, २०५० मा केन्द्रीय सदस्य, २०५१ मा वाइसिएलको केन्द्रीय सदस्य, २०५३ सालदेखि २०५७ सालसम्म अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी)को केन्द्रीय अध्यक्ष थिइन् ।
विसं २०५७ मा नेकपा माओवादीको केन्द्रीय सदस्य बनेकी उनी काठमाडौँ उपत्यका उपब्यूरोको इन्चार्जको भूमिका निर्वाह गरिन् । विसं २०५८ चैतमा पार्टीका केन्द्रीय सदस्य तथा श्रीमान् कृष्णध्वज खड्कासँगै चाबहिलबाट पक्राउ परी नेपाली सेनाको ललितपुरस्थित राजदल गण र पोखराको सैनिक ब्यारेकमा बसकी थिइन् ।
युद्धविराम भएर सरकार र माओवादीबीच वार्ता सुरु भएपछि २०५९ साल चैत ३१ मा दुवै जना मुक्त हुँदै पार्टीमा क्रियाशील भइन् । विसं २०७० र २०७४ मा संसदीय दलको सचेतकको जिम्मेवारी निर्वाह गरेकी शर्मा माओवादीभित्र स्थापित नेत्रीसमेत थिइन् ।
मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा माओवादी केन्द्रबाट प्रत्यक्षतर्फ निर्वाचित हुने शर्मा एक्लै महिला हुन् ।



कागजपत्र |
