

वडाध्यक्षले जातीय दुर्व्यवहार गरेको महिला सदस्यको आरोप

गण्डकी – पोखरा महानगरपालिका-२४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई दलित महिला सदस्यमाथि जातीय दुर्व्यवहार गरेको आरोप लागेको छ।
मङ्गलवार सुरु भएको महानगरपालिकाको १२ औँ नगरसभामा दलित समुदायका जनप्रतिनिधिले वडाध्यक्ष अधिकारीले वडा सदस्य मैया नेपालीलाई जातीय भेदभाव गरेको भन्दै विरोध जनाएका छन्।
गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारी प्रमुख अतिथि रहेको नगरसभाको उद्घाटन समारोहमै दलित जनप्रतिनिधिले हातमा कालोपट्टी बाँधेर जातीय विभेद विरुद्ध लेखिएका पर्चा देखाए। उनीहरूले महानगरप्रमुख धनराज आचार्यलाई ध्यानाकर्षण पत्रसमेत बुझाएका छन्।
समारोहमा समय लिएर नगरसभा सदस्य दीपक घिमिरे विश्वकर्माले जातीय विभेद झल्किने गरी वडाध्यक्ष अधिकारीले दलित महिला सदस्यमाथि गालीगलौज र अपशब्द प्रयोग गरेको बताए। उनले पीडितले न्याय र पीडकले सजाय पाउनुपर्ने धारणा राखे।
यही पुस १८ गते वडाको चालु आवको लक्षित बजेट विनियोजनका विषयमा छलफल गर्ने क्रममा वडाध्यक्ष अधिकारीले वडा सदस्य नेपालीमाथि जातीय आधारमा भेदभावजन्य व्यवहार गरेको आरोप लगाइएको छ।
घटनाको विषयमा सदस्य नै विरोधमा उत्रेपछि नगरसभा केहीबेर प्रभावित बनेको थियो। आफूमाथि जातीय भेदभाव र दुर्व्यवहार भएको भन्दै वडा सदस्य नेपालीले दिएको जाहेरीका आधारमा प्रहरीले वडाध्यक्ष अधिकारीमाथि अनुसन्धान गरिरहेको जनाइएको छ।

