
अझै लागेन नयाँ सरकार गठनको टुंगो, राष्ट्रपतिले दिएको समयावधि २ दिन मात्र बाँकी
काठमाडौं — नयाँ सरकार गठनका लागि राजनीतिक दलहरु छलफलमा लागेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको एक साताको समय २ दिन बाँकीरहँदा सम्म कसले सरकार बनाउने भन्ने विषय टुंगो लागिसकेको छैन ।
राष्ट्रपति भण्डारीले नयाँ सरकार गठनका लागि एक साताको समयावधि दिँदै दलहरूलाई गत पुस ३ गते आह्वान गरेकी थिइन्।
माओवादी केन्द्रले बिहीबार मात्रै संसदीय दलको नेता चयन गरेपनि सरकार कसले बनाउने भन्ने विषयमा राजनीतिक दलहरुबीच अन्तिम छलफल हुन सकेको छैन । ।
राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न पुस १० गते अपरान्ह ५ बजेसम्मको समय दलहरूलाई दिएकी छन्।
समयावधिभित्रै नयाँ सरकार बन्नेमा सत्ता गठबन्धनका नेताहरू निश्चिन्त छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेकै गठबन्धनले पुस १० भित्र नयाँ सरकार बनाउने बताएका थिए।
सांसदको शपथ लिएसँगै बिहीबार पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिएका प्रचण्डले को प्रधानमन्त्री बन्ने भन्ने विषय सल्लाह भइरहेको बताएका छन्। बिहीबार नै प्रचण्ड सर्वसम्मत रूपमा संसदीय दल नेता चयन भएका थिए।
बिहीबार साँझ बालुवाटारमा गठबन्धनका तीन शीर्ष नेतासहित दलका नेताहरूबीच सरकार गठन गर्ने विषयमा सामान्य छलफल भएको छ। प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच समसामयिक राजनीतिक घटनाक्रम र नयाँ सरकारबारे कुराकानी भएको हो।
कांग्रेस सभापति देउवा पुनः प्रधानमन्त्री हुन चाहेका छन्। जनताको म्यान्डेट पनि कांग्रेस नेतृत्वमा सरकार गठन भएको जिकीर कांग्रेसको छ। कांग्रेसले प्रधानमन्त्री र सकेसम्म राष्ट्रपति पनि आफैँसँग राख्न खोजेको छ। प्रतिनिधि सभा संसदमा कांग्रेस ८९ सांसदसहित सबैभन्दा ठूलो दल छ।
नेकपा माओवादी केन्द्रले पनि प्रधानमन्त्रीमा दाबी गरेको छ। आलोपालो सरकार गठनबारे ‘मौखिक समझदारी बनेकै हो’ भन्ने हिसावले माओवादीले प्रधानमन्त्री आफूले लिएर राष्ट्रपति कांग्रेसलाई राख्न भनेको माओवादीका एक नेता दाबी गर्छन्। अहिलेसम्म कांग्रेसले सरकारको नेतृत्व गरेकोले अब आफूले गर्न पाउनुपर्ने दाबी प्रचण्डको छ।
कांग्रेसका नेताहरूले भने यही गठबन्धनबाट नयाँ सरकार बनाउने गरी छलफल गर्दै जाने बताएका छन्। देउवा सरकारमा रहेका केही मन्त्रीहरूले आफूले गरेका कामकारबाहीबारे जानकारी गराउन शुक्रबार पत्रकार सम्मेलन राखेकोले पनि दलहरू छिटै नयाँ सरकार बनाउँदैछन् भन्ने संकेत देखिएको छ।
सत्ता गठबन्धनमा कांग्रेस ८९, माओवादी ३२, एकीकृत समाजवादी १०, राष्ट्रिय जनमोर्चा १, लोसपा ४ गरी १३६ जना सांसद छन्। कांग्रेसमा ८९ जना सांसद भए पनि मनाङबाट निर्वाचित टेकप्रसाद गुरूङ संसद प्रवेश गर्न पाउँदैनन्, उनीविरूद्ध अदालतमा मुद्दा छ। यो गठबन्धनसँग १३५ जना सांसद छन्, नयाँ सरकार बनाउन ३ सांसद पुग्दैन।
सत्ता गठबन्धनले ६ सांसद भएको जनमत पार्टीलाई पनि सरकारमा ल्याउन छलफल गरिरहेको छ।
यस्तै नेकपा एमालेले पनि आफ्नै नेतृत्वमा नयाँ सरकार गठन गर्ने कोशिस गरिरहेको छ। प्रतिनिधि सभामा एमालेका ७८ जना सांसद छन्। माओवादीले गठबन्धन छाडेर आए माओवादीसहित राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतको साथ लिएर सरकार गठन गर्न सकिने एमाले नेताहरू बताउँछन्।
एमालेसँग ७८, माओवादीसँग ३२, रास्वपासँग २०, राप्रपासँग १४ सांसद गरी १४४ सांसद पुग्छ। २७५ सदस्यीय प्रतिनिधि सभामा बहुमत पुर्याउन १३८ जना सांसद चाहिन्छ। राप्रपा, रास्वपालगायत दलहरूले सरकारमा जाने आफूहरूको प्राथमिकता नभएको तर सरकार नै गठन हुन नसक्ने अवस्था आएमा सहयोग गर्न सकिने बताइरहेका छन्।
राष्ट्रपतिले नयाँ सरकार गठन गर्न दिएको समय आइतबार अपरान्ह सकिँदैछ। त्यो बेलासम्म पनि दलहरूले प्रधानमन्त्री नियुक्तिका लागि दाबी पेश गरेनन् भने दलहरूकै आग्रहमा राष्ट्रपतिले पुनः संविधानको धारा ७६ को २ अनुसार समय थप गर्ने वा संविधानको धारा ७६ को ३ अनुसार सरकार गठनका लागि समय दिने सम्भावना रहन्छ।



कागजपत्र |
