

बिजुक्छे भन्छन् – न्यायालय भित्रबाट राष्ट्रपति बनाउने भारतको षड्यन्त्र

काठमाडाैं – नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान बिजुक्छेले भारतले न्यायालय भित्रैबाट राष्ट्रपति बनाउने षडयन्त्र गरिरहेको आरोप लगाएका छन्।
बिजुक्छेले खिलराज रेग्मीलाई मन्त्रीपरिषदको अध्यक्ष बनाए जसरी नै भारतले राष्ट्रपति पनि न्यायालय भित्रैबाट बनाउने प्रयास गरिरहेको उल्लेख गर्दै त्यसविरुद्ध लड्न तयार रहन समेत आह्वान गरे।
भक्तपुर नगरपालिकाको ७३ औं स्थापना दिवसको अवसर पारेर शनिबार आयोजित एक कार्यक्रममा बोल्दै उनले भारतको छायाँमा मुलुकको कार्यपालिका, न्यायपालिकासमेत जकडिएकाले त्यसविरुद्ध देशभक्त शक्तिहरुले संघर्ष गर्नुपर्ने बताए।
उनले प्रधानमन्त्री बनाउने र निर्वाचनमा जिताउने काम समेत हालसम्म भारतकै निर्णय अनुसार हुने गरेको जिकीर समेत गरे। रासायनिक मल कारखाना देशभित्रै खोल्न आफ्नो पार्टीले पटकपटक दबाब दिएपनि मन्त्रीहरुले भारतसँग थर्कमान भएर सो कार्यलाई अघि बढाउन नसकेको उनको भनाइ थियो।
बिजुक्छेले भारतले नेपालको जलस्रोत उपयोगको चाबी समेत आफ्नो हातमा लिएको, उद्योगधन्दाहरु निजीकरण गरेर आफ्नो इसारामा चलाएको भन्दै आक्रोश समेत व्यक्त गरे।

