पाकिस्तानी विदेशमन्त्रीको टिप्पणीविरुद्ध भारतमा प्रदर्शन


काठमाडाैं – भारतीय जनता पार्टी (भाजपा) ले पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टो जर्दारीले प्रधानमन्त्री नरेन्द्र मोदीबारे गरेको टिप्पणीप्रति आपत्ति जनाउँदै देशव्यापी विरोध प्रदर्शन गरेको छ।

शनिबार बिहान महाराष्ट्रको मुम्बई र पुणेमा एकैसाथ सयौँ भाजपा कार्यकर्ता र नेताहरू हातमा प्लेकार्ड लिएर प्रमुख स्थानमा भेला भएर पाकिस्तानका विदेशमन्त्रीले प्रधानमन्त्री मोदीविरूद्ध गरेको अपमानजनक टिप्पणीको विरोध गरे। उनीहरूले पाकिस्तान र पाकिस्तानका विदेशमन्त्रीको पुत्ला दहन गर्दै उनीहरुविरुद्ध नाराबाजीसमेत गरेका थिए।

भाजपा राज्य अध्यक्ष चन्द्रशेखर बावनकुलेले पुणेमा विरोध प्रदर्शनको नेतृत्व गरेभने मुम्बईका विभिन्न भागमा एकत्र भएका सयौँ भाजपा कार्यकर्ता र नेताले प्रदर्शन गरे। उनीहरूले पाकिस्तान सरकार र विदेशमन्त्रीको आलोचना गर्ने गीत पनि बजाएका थिए। बिलावल भुट्टो जरदारीले मोदीविरुद्ध गरेको अपमानजनक टिप्पणीले देशभर आक्रोश सृजना गरेको छ। भाजपाले देशभरका सबै राज्यको राजधानीहरूमा विरोध प्रदर्शन गरिरहेको छ।

संयुक्त राष्ट्रसङ्घको प्रधान कार्यालय न्युयोर्कमा आयोजित पत्रकार सम्मेलनमा पाकिस्तानी मन्त्रीले गरेको अपमानजनक टिप्पणीपछि भारतभर आक्रोश छाएको छ। भाजपाले बिलावल भुट्टोको टिप्पणीलाई अतिअपमानजनक र कायरताले भरिएको भन्दै पाकिस्तानको ध्वस्त अर्थव्यवस्था, अराजकता तथा त्यहाँ व्याप्त अराजकताबाट विश्वव्यापी ध्यान अन्यत्र मोड्न गरिएको बताएको छ।

भाजपाले एक वक्तव्य निकालेर पाकिस्तानी विदेशमन्त्रीको अभिव्यक्तिले अन्तर्राष्ट्रिय जगत्मा पाकिस्तानको प्रतिष्ठा घटाएको जनाएको छ।गत बुधबार सुरक्षा परिषद्मा बोल्दै भारतका विदेशमन्त्री एस जयशंकरले परिषद्मा कश्मीर मुद्दा उठाएकोमा पाकिस्तानको आलोचना गरेका थिए। भारतका विदेशमन्त्रीको अभिव्यक्तिप्रति असहमति जनाउँदै बिहीबार पाकिस्तानी विदेशमन्त्रीले प्रधानमन्त्री मोदीलाई ‘कसाइ’ भनेर सम्बोधन गरे।

भारतका विदेशमन्त्रीले सन् २००१को नोभेम्बर ११ मा अमेरिकामा भएको आतङ्वादी हमलाका मुख्य योजनाकार ओसामा बिन लादेनलाई शरण दिएको, छिमेकी देशको संसद्मा पाकिस्तानले हमला गरेको पाकिस्तानलाई राष्ट्रसंघको शक्तिशाली अंक सुरक्षा परिषद्मा उपदेश दिने नैतिक अधिकार नभएको टिप्पणी गरेका थिए।

पाकिस्तानका विदेशमन्त्रीले आफू स्वयम् आतंकवादको शिकार बनेको, आफ्नो देश पनि त्यसबाट प्रताडित रहेको बताउँदै पाकिस्तानले कहिल्यै पनि आतंकवदलाई प्रश्रय नदिएको दाबी गरे।

प्रतिक्रिया