विष सेवनबाट दुई छोरी र आमाकाे मृत्यु


नवलपरासी – नवलपरासीमा विष सेवनबाट एकै परिवारका तीन जनाको मृत्यु भएको छ । पश्चिम नवलपरासीको सरावल गाउँपालिका–५ धनगडवामा एक महिलाले दुई छोरीसहित आफुले पनि विष सेवन गरेर आत्महत्या गरेकी छिन् ।

३५ वर्षीया अनिता चौधरीले बुधबार राति आफ्ना दुई छोरीलाई विष सेवन गराएर आफूले पनि विष सेवन गरेको प्रहरीले जनाएको छ। विष सेवनका कारण चौधरीकी १२ वर्षीया छोरी नेहा र १० वर्षीया हेमाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी राजु लामाले जानकारी दिएका छन् ।

विष सेवनपछि पृथ्वीचन्द्र अस्पताल परासीमा पुर्‍याइएका उनीहरूको त्यहाँ उपचार हुन नसकेपछि भैरहवा मेडिकल कलेजमा पठाइएको थियो। उपचारका क्रममा तीनै जनाको बिहीबार बिहान अस्पतालमा मृत्यु भएको डिएसपी लामाले बताए ।

विष सेवनपछि घरभित्र छट्पटिएपछि चिच्याएको आवाज सुनेपछि स्थानीय घरको छतबाट कोठामा पुगेका थिए। कोठामा दुई वटा चिया पिउने गिलासमा पानीजस्तो तरल पदार्थ देखिएकाले त्यसैमा विष राखेर छोरीहरूलाई दिएको हुन सक्ने प्रहरीले जनाएको छ। मृतक चौधरीका श्रीमान जितेन्द्र रोजगारीका लागि विदेशमा छन्। अनिता दुई छोरीसहित घरमा बस्दै आएकी थिइन्।

प्रतिक्रिया