हेटौँडामा मिर्गौला प्रत्यारोपण केन्द्र


काठमाडाैं – हेटौँडा अस्पतालमा मिर्गौला प्रत्यारोपण केन्द्र स्थापना गर्न विभिन्न तीन संस्थाबीच सम्झौता भएको छ । केन्द्र स्थापनाका लागि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा.पुस्करचन्द्र श्रेष्ठ, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.विश्वराज जोशी र हेटौँडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.रामचन्द्र सापकोटाबीच त्रिपक्षीय सम्झौता भएको हो ।

अस्पतालको सेवा विस्तार गर्ने अभियानअन्तर्गत बागमती प्रदेश सरकारको सहयोगमा मिर्गौला प्रत्यारोपण शुरु गर्न लागिएको हो । कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आज भएको सम्झौतासँगै केन्द्र स्थापनाको कार्य तीव्र गतिमा अगाडि बढेको बताए ।

उनले हेटौँडा अस्पतालको विकासमा प्रदेश सरकार सदैव सहयोग गर्न तयार रहेको स्पष्ट पारे । त्यसैगरी मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा जोशीले हेटौँडा अस्पतालमा सेवा विस्तार भएपछि धेरैलाई सेवा प्रदान गर्न सहज हुने विश्वास व्यक्त गरे ।

मिर्गौला प्रत्यारोपण केन्द्र स्थापनाका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु आठ करोड बजेट छुट्याएको छ ।

प्रतिक्रिया