बामदेवको चुनावी रणनीति, प्रधानमन्त्रीको कुर्सीमा पुग्ने ‘सपना’


काठमाडौं– दुई धारमा विभक्त रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकता अभियानको घोषणा गर्दै नेता बामदेव गौतम देशव्यापी दौडमा निस्कँदैछन्। प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल मिलाउने उनले घोषणा गरेका छन्। तर, उनको घोषणा अनुसार नेकपा एक नभए पनि आगामी चुनावको रणनीतिका रुपमा गौतम अघि बढेका हुन्।

प्रतिनिधि सभा विघटनलाई सर्वोच्च अदालतले सदर गरेको खण्डमा मुलुक चुनावमा नै जाने निश्चितप्रायः छ। नेकपा प्रचण्ड–नेपाल खेमाको आन्दोलनले चुनावी रणनीतिलाई नरोक्ने गौतमको ठहर छ। प्रतिनिधिसभा पुनःस्थापनाका लागि सवै दल आन्दोलनमा गएको खण्डमा केही दबाब मिल्ने थियो तर नेपाली कांग्रेस, जनता समाजवादी पार्टीले पनि विरोध सभाका नाममा चुनावी रणनीति बनाइरहेको बुझिएको छ।

सर्वोच्च अदालतले जस्तो फैसला दिन्छ सोहीअनुसारै अघि बढ्ने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलगायतले धारणा सार्वजनिक गरिसकेका छन्। कांग्रेसले त निर्वाचन आयोगले थालेको चुनावी कार्यक्रममा सहभागीता जनाउनका लागि ७७ जिल्लामा सर्कुलर नै जारी गरिसकेको छ।

‘प्रतिनिधि सभा विघटन सदर भएको खण्डमा १७ र २७ वैशाखमा चुनाव हुन्छ या हुँदैन भन्ने एउटा उल्झन त छ तर चुनावको विकल्प छैन। चुनाव कुनै न कुनै मितिमा हुन्छ, त्यसैले त्यो अवस्थालाई पनि ध्यानमा राखेर नेकपा एकीकरणको अभियान चलाइएको हो’, गौतमनिकट स्रोतले भन्यो।

अघिल्लो चुनावमा गौतम पराजित भएका थिए। तर चुनाव भएको खण्डमा यस पटक प्रतिनिधि सभामा नेकपाको गठबन्धन बनाई जित्ने र एक पटक प्रधानमन्त्री बन्ने योजनामा गौतम रहेका छन्।

‘उहाँका लागि त यो अवसर जस्तो पनि बनेको छ। राष्ट्रिय सभाको हैसियत पनि प्रधानमन्त्री छान्न पाउने गरी संविधान संशोधनको प्रस्ताव गर्नुभएको थियो। तर प्रतिनिधि सभा भंग भएपछि चुनाव जित्ने र प्रधानमन्त्रीका लागि चाँडै बाटो खुलेको उहाँको बुझाई छ’, गौतमनिकट स्रोतले भन्यो।

त्यसैले उनले अभियान घोषणा होस् या त्यस अघि र पछि पनि बारम्बार नेकपा विभाजित अवस्थामा गएको खण्डमा सरकार बनाउनेगरी जित्ने हैन, नमिठोगरी हार्ने प्रक्षेपण सार्वजनिक गर्दै आएका छन्।

प्रतिक्रिया