नेपालले दियो स्कटल्यान्डलाई १ सय ३८ रनको सहज लक्ष्य


काठमाडौं – कमजोर ब्याटिङ गरेको नेपालले नामिबियामा जारी आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजको दोस्रो खेलमा स्कटल्यान्डलाई जितको लागि एक सय ३८ रनको सहज लक्ष्य दिएको छ ।

युनाइटेड क्रिकेट क्लब ग्राउन्ड विन्ढोकमा आइतबार टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४०.१ ओभरमा सबै विकेटको क्षतिमा एक सय ३७ रन बनायो । नेपालका लागि गुल्सन झाले २९ रन बनाए। ज्ञानेन्द्र मल्लले २५, ओपनर अर्जुन साउदले १८, कप्तान रोहित पौडेलले १७ र आरिफ शेखले १० रन बनाए ।

अन्य ब्याट्सम्यानले दोहोरो अङ्कको रन जोड्न सकेनन् । बलिङमा स्कटल्यान्डका चरिस सोलले तीन विकेट लिए । मार्क वाटले दुई तथा ब्रान्डन म्यामुलेन, सफायन सरिफ र मिचेल लिस्कले एक एक विकेट लिए ।

यसअघि शुक्रबार नेपाल र नामिबियाको खेल वर्षाका कारण बीचमै रोकिएको थियो । उक्त खेलमा दुवै टोलीले एक एक अङ्क बाँडेका थिए । स्कटल्यान्डले पहिलो खेलमा नामिबियालाई पराजित गरेको थियो । सात टोली सहभागी लिग–२ मा नेपाल अहिले २१ खेलबाट १८ अङ्क जोड्दै छैटौँ स्थानमा छ ।

२९ खेल सकेको स्कटल्यान्ड ४२ अङ्क सहित दोस्रो स्थानमा छ । हरेक टोलीले एक आपसमा कूल ३६ खेलपछि सिरिजको शीर्षतीनमा रहने टोली सन् २०२३ मा आयोजना हुने एकदिवसीय विश्वकपमा छनोट हुनेछ ।

प्रतिक्रिया