

बङ्गलादेश डाइभर्ट भएको नेपाल एयरलाइन्सको जहाज पुनः थाइल्याण्ड उड्दै

काठमाडौं – थाइल्याण्डको बैंकक उडानका क्रममा केही प्राविधिक समस्या आएपछि बङ्गलादेश डाइभर्ट भएको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को न्यारोबडी ए-३२० जहाज केहिबेरपछि पुनः बैंकक उड्ने निगमले जनाएको छ ।
निगमका प्रवक्ता अर्चना खड्काका अनुसार काठमाडौंबाट बैंककका लागि उडेको आरए ४०१ उडान नम्बर रहेको जहाजको इन्डिकेटरले कार्गो कम्पार्टमेन्टमा धुवाँ देखिएको सङ्केत गरेपछि बङ्गलादेशको चटगाउँ अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको थियो ।
‘इन्डिकेटरमा धुवाँ आएको सङ्केत आएर डाइभर्ट गरिएको हो, जाँच गर्दा खासै समस्या देखिएको छैन, केहीबेरपछि जहाज बैंकक उड्ने तयारीमा छ’, प्रवक्ता खड्काले भनिन् । जहाजमा एक सय ५२ यात्रु सवार रहेको बताइएको छ ।

