गिरीराजमणि पोखरेललाई पराजित गर्दै महोत्तरी १ मा एमालेका लक्ष्मी महतो विजयी


काठमाडौँ- महोत्तरी क्षेत्र नम्बर १ मा नेकपा एमालेका लक्ष्मी महतो विजयी भएका छन्। माओवादी केन्द्रका उपमहासचिवसमेत रहेका नेता गिरीराजमणि पोखरेललाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा महतो विजयी भएका हुन्। ०६४ देखिका सबै निर्वाचन जित्दै आएका पोखरेल यसपटक भने माओवादीको आधार क्षेत्रमै पराजित भएका छन्।

महतोले २३ हजार ४०२ मत प्राप्त गर्दा पोखरेलले २२ हजार ३७२ मत प्राप्त गरेका छन्। त्यो क्षेत्रमा स्वतन्त्र उम्मेदवार पोषण थापाले ७ हजार ८१२ मत पाएका छन् भने जनमत पार्टीका राजकिशोर साहले ३ हजार ५९८ मत पाएका छन्।

पोखरेललाई पराजित गर्ने महतो मनोनयनको अघिल्लो रात मात्रै जसपाबाट एमाले प्रवेश गरेका थिए। यसअघि ०७४ को निर्वाचनमा जसपाबाट महोत्तरी १ मै निर्वाचन लडेका महतोलाई पोखरेलले पराजित गरेका थिए।

यसपटक पोखरेललाई पराजित गरेर महतोले अघिल्लो निर्वाचनमा भएको पराजयको बदला लिएका छन्।

महोत्तरी १ को प्रदेशसभा (क)मा पनि एमालेकी शारदा थापा विजयी भएकी छन्। ०७४ को निर्वाचनमा वाम गठबन्धनबाट विजयी भएकी थापा गठबन्धनका उम्मेदवार लोसपाका पिताम्बर महतोलाई पराजित गर्दै विजयी भएकी हुन्।

थापाले ८ हजार ३०८ मत प्राप्त गर्दा महतोले ७ हजार ५८५ मत प्राप्त गरेका छन्। प्रदेशसभा तर्फ स्वतन्त्र उम्मेदवार फाल्गुण सुसलिङले ४ हजार ५०२, युवराज पोखरेलले ४ हजार ६७, जनमत पार्टीका राशलाल सिंहले २ हजार ३७० मत पाएका छन्।

 

प्रतिक्रिया