

३१ वर्षपछि कालीकोटमा कांग्रेसको जित

मान्म- पछिल्लो ३१ वर्षमा मुलुकमा सातवटा निर्वाचन भए । यसअघिका छ वटा निर्वाचनमा कालीकोटमा नेपाली कांग्रेसले एकपटक मात्रै जित हासिल गरेको थियो ।
विसं २०४८ सालमा कांग्रेसका तिलकप्रसाद न्यौपानेले विजयी भएपछि यस क्षेत्रमा कांग्रेसले जित हासिल गर्न सकेको थिएन । रोचक त के छ भने ०४८ सालमा कांग्रेस उमेदवार न्यौपानेसँग पराजित भएका हिक्मतबहादुर विष्ट ३० वर्षपछि कालीकोटमा कांग्रेसलाई जित दिलाउन सफल भएका छन् ।
तत्कालीन समयमा नेपाल मजदुर किसान पार्टीका उमेदवार विष्ट कांग्रेसका न्यौपानेबाट २८६ मतले पराजित भएका थिए । न्यौपानेले आठ हजार आठ मत ल्याउँदा विष्टले सात हजार सात सय १७ मत ल्याएका थिए ।
यही मङ्सिर ४ मा सम्पन्न प्रदेशसभा निर्वाचनमा विष्टले कालीकोट प्रदेशसभा २ सदस्यमा १३ हजार ७८३ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी नेकपा (एमाले)का वीरेन्द्रबहादुर बोगटी पाँच हजार ८३८ मत प्राप्त गरे ।
‘प्रदेशसभा सदस्यमा कांग्रेसले जित निकाल्न सफल भएको छ,’ कांग्रेस जिल्ला सभापति अम्मबहादुर शाहीले भने, ‘३१ वर्षपछि कालीकोटमा कांग्रेसको जितले निकै खुसी बनाएको छ ।’

