महिनावारी उठाउँदै हिँडेका सई ४ हजार घुससहित पक्राउ


जनकपुर – अख्तियार दुरुपयोग अनुसुन्धान आयोगले नेपाल प्रहरीका एक जना प्रहरी नायब निरीक्षक (सई) लाई घुससहित नियन्त्रणमा लिएको छ।

सीमा प्रहरी चौकी, लग्मा, जटही, धनुषामा कार्यरत सई देवकीलाल चौधरी ४ हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन्।

उनीविरुद्ध धनुषाको नगराइन नगरपालिका–२, जटहीस्थित पसलका सञ्चालकसँग पसल सञ्चालन गर्न महिनावारी रूपमा रकम दिनुपर्ने अन्यथा पसल सञ्चालन गर्न नदिने धम्की दिएको उजुरी अख्तियारमा परेको थियो। उनले उक्त रकम पनि महिनावारी उठाउने क्रममा लिएको जनाइएको छ ।

अख्तियारको बर्दिबासस्थित कार्यालयबाट खटिएको टोलीले सई चौधरीलाई घुस रकमसहित पसलबाट बिहीबार पक्राउ गरेको हो।

उनका सम्बन्धमा थप अनुसन्धान भइरहेको अख्यिारका केन्द्रीय प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।

प्रतिक्रिया