
माओवादी केन्द्रका बागी उम्मेदवार चेपाङको समर्थन बानियाँलाई
काठमाडौँ- मकवानपुर क्षेत्र नम्बर २ (ख) बाट प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएका माओवादी केन्द्रका बागी उम्मेदवार खुसीलाल चेपाङले सोही क्षेत्रका लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार इन्द्रबहादुर बानियाँलाई समर्थन गरेका छन् ।
मंगलबार पत्रकार सम्मेलन गर्दै चेपाङले समृद्ध र लोकतान्त्रिक नेपालको निर्माणको लागि लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवारहरूलाई विजयी गराउन आवश्यक देखिएको भन्दै आफ्नो उम्मेदवारी स्थगित गर्दै लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार बानियाँलाई समर्थन गरेको घोषणा गरेका हुन् ।
नेपाल चेपाङ संघको बागमती प्रदेश अध्यक्ष एवम् नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका चेपाङले आफूले पार्टी र गठबन्धनविपरीत जाँदा मुलुकमा लामो संघर्षबाट प्राप्त गणतन्त्र, संघीयताजस्ता महत्वपूर्ण राजनीतिक उपलब्धिमाथि गम्भीर क्षति पुग्ने, संविधानको हत्या गर्नेहरूलाई राजनीतिक लाभ हुने र समग्र लोकतान्त्रिक विधि र पद्धतिमाथि नै घात हुने देखिएकाले उम्मेदवारी स्थगित गरी लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारलाई समर्थन गरिएको स्पष्ट पारे ।
उनले आफ्नो उम्मेदवारी स्थगित गरी गठबन्धनका साझा उम्मेदवार इन्द्रबहादुर बानियाँलाई विजयी गराउनसमेत सबै शुभचिन्तकहरुमा आग्रह गरेका छन् । ‘निर्वाचन आयोगमार्फत मेरो उम्मेदवारी फिर्ता लिन प्राविधिक कारणले नमिल्ने भए पनि राजनीतिक रुपमा म आफू उम्मेदवार नरहेको पुनः स्पष्ट पार्दै प्रतिनिधिसभा –२ को प्रदेशसभा (ख) मा लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवारलाई सहयोग गर्न अपिल गर्दै यो प्रेस विज्ञप्ति जारी गर्दछु’ चेपाङद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
अबको दिनमा गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आफू पनि उम्मेदवारहरूसँगै घरदैलोमा क्रियाशील हुने समेत उनले जानकारी दिए । खुसीलालले आफ्नो उम्मेदवारी फिर्ता लिई गठबन्धनको अभियानमा साथ दिएको भन्दै मकवानपुर क्षेत्र नम्बर २ (ख) का प्रदेश सभा सदस्य उम्मेदवार ईन्द्रबहादुर बानियाँले आभार व्यक्त गरे ।
‘मुलुकको आवश्यकता र हितलाई मध्यनजर गरी खुसीलाल जीले गठबन्धनलाई सहयोग गर्ने निर्णय गर्नुभएको छ। यो निकै महत्वपूर्ण निर्णय हो । म यसको स्वागत गर्दछु । उहाँको साथले महत्वपूर्ण सन्देश दिएको छ’ बानियाँले भने ।



कागजपत्र |
