प्रधानमन्त्रीको हैसियतमा डडेलधुरा जान देउवाले पाएनन् अनुमति, व्यक्तिगत हिसाबले जान भने अनुमति


काठमाडौँ- प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गृह जिल्ला डडेलधुरा जान निर्वाचन आयोगसँग अनुमति लिएका छन्। मंसिर ४ मा हुने निर्वाचन केन्द्रित चुनावी गतिविधिमा सहभागी हुन डडेलधुरा जान देउवाले मंगलबार आयोगसँग अनुमति मागेका थिए।

आयोगले देउवालाई प्रधानमन्त्रीको हैसियतमा नभई व्यक्तिगत तथा उम्मेदवारको हिसाबले मात्रै प्रस्तुत हुने गरी अनुमति दिएको बताएको छ।

‘सरकारी स्रोत साधन प्रयोग नगर्ने, नेपाल सरकारको पदीय हैसियत नभई व्यक्तिगत हिसाबले प्रस्तुत हुने गरी अनुमति दिइएको हो,’ निर्वाचन आयोगका नवराज विष्टले भने, ‘उहाँलाई सरकारी स्रोत साधन प्रयोग नगर्ने, प्रधानमन्त्रीको हैसियतमा नभई उम्मेदवारकै हैसियतमा मात्रै आफू प्रस्तुत हुन्छु भन्नेमा हस्ताक्षर गरेर अनुमति पाउनु भएको छ।’

देउवाले आयोगबाट कात्तिक १६ देखि २० गतेसम्मको लागि अनुमति लिएका छन्। देउवा आज कात्तिक १६ गते धनगढी जाँदैछन्। त्यसपछि १७ देखि २० गतेसम्म डडेलधुरामा हुने चुनाव केन्द्रित कार्यक्रममा सहभागी हुनेछन्। यो अवधिमा अवधिमा देउवाले कुनै पनि सरकारी साधन स्रोत प्रयोग गर्न पनि पाउने छैनन्।

देउवाले यसअघि उम्मेदवारी दर्ताका लागि पनि श्रीमती आरजु राणा देउवालाई वारेसनामा दिएर पठाएका थिए। स्थानीय तहको निर्वाचनताका डडेलधुरा पुगेका थिए। त्यसयता उनी डडेलधुरा गएका छैनन्। देउवा डडेलधुराबाट यसपटक पनि प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन्।

 

प्रतिक्रिया