प्रचण्डले गोरखा गएर भने : सुरेन्द्र पाण्डेलाई गण्डकीको मुख्यमन्त्री बनाउन देउवासँग कुरा भइसकेको छ


गोरखा- नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं गोरखा क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनबाट प्रतिनिधि सभा उम्मेदवार पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउनेबारे प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवासँग आफूले सल्लाह गरिसकेको बताएका छन्।

गोरखाको क्षेत्र नम्बर २ मा आइतबार भएको चुनावी कोणसभालाई सम्बोधन गर्ने क्रममा प्रचण्डले पाण्डेलाई गण्डकी प्रदेशको मुख्यमन्त्री बनाउनेबारे आफू र देउवाबीच सल्लाह भइसकेको बताएका हुन्।

पाण्डे गोरखा २ को प्रदेश सभा क्षेत्र (ख) मा उम्मेदवार छन्। २०७४ मा तत्कालीन माओवादी र एमालेबीचको वामगठबन्धनका बेला पनि यो प्रदेश सभा क्षेत्र कांग्रेसका प्रकाशचन्द्र दवाडीले जितेका थिए।

प्रचण्डले कात्तिक १२ र १३ मा गोरखामा भएका ४० भन्दा बढी चुनावी कोणसभालाई सम्बोधन गरेका थिए। ती अधिकांश सभामा प्रचण्डले आफू भावी प्रधानमन्त्री र सँगै रहेका पाण्डेलाई चुनाव जितेपछि गण्डकी प्रदेशको मुख्यमन्त्री हुने कुरा भन्न छुटाएका थिएनन्।

उनीहरूसँगै रहेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पनि भावी प्रधानमन्त्रीमा प्रचण्ड र मुख्यमन्त्रीमा पाण्डेको नाम नै लिएर यो क्षेत्रको विकास हुने भन्दै जनतासँग भोट मागेका थिए।

प्रचण्डका लागि गोरखा २ बाबुरामले पनि छाडेका हुन्। २०७४ मा बाबुरामले कांग्रेसँग मिलेर गोरखा २ मा वामगठबन्धनका उम्मेदवार माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठलाई हराएका थिए। २०७४ मा चुनावमा प्रतिस्पर्धा गरेकाहरू अहिले सत्ता गठबन्धनमार्फत् एकै गठबन्धनमा समेटिएर चुनावी अभियानमा छन्।

प्रचण्डले आफू गोरखा २ मा आउने भनेपछि सुरेन्द्र पाण्डेले सजिलै यो क्षेत्र छाडिदिएको पनि उल्लेख गरेका छन्।

‘सुरेन्द्रजी पहिले त संघमा लड्ने तयारी गरिरहनुभएको थियो। प्रचण्ड आउने भनेपछि त म बोल्ने कुरै भएन, ल छाडिदिएँ मैले भन्नुभयो,’ गोरखा २ को एक चुनावी सभालाई सम्बोधनका क्रममा आइतबार प्रचण्डले भने, ‘अनि शेरबहादुरजी र मैले कुरा गरियो, सुरेन्द्रजी प्रदेशमा जाने हुनुभयो। उहाँलाई मुख्यमन्त्री बनाउने भन्ने सल्लाह भयो। मलाई लाग्छ- उहाँ (सुरेन्द्र पाण्डे) चुनाव जितेपछि मुख्यमन्त्री बन्ने नजिकै हुनुहुन्छ।’

यसपछि प्रचण्डले आफ्नाबारे पनि कुरा राख्दै प्रधानमन्त्री हुन सक्ने कुरा गरेका थिए।

‘त्यस्तै तालमेल मिल्यो भने म पनि देशको नेतृत्व गर्ने अवसर पाउने सम्भावना पनि छ। त्यसो भयो भने गोरखा क्षेत्र नम्बर २ बडो भाग्यमानी क्षेत्र हुने भयो,’ प्रचण्डले भने, ‘प्रधानमन्त्री पनि पाउने मुख्यमन्त्री पनि पाउने भयो भने गोरखाका यी बाटाघाटाका धुलो छन् नि एउटा पनि रहन दिन्नौं।’

 

प्रतिक्रिया