
काभ्रेलीलाई लागेको दाग यो निर्वाचनमा पखालिनेछ : हुमागाईं
काठमाडौँ- लोकतान्त्रिक –बाम गठबन्धनका काभ्रेका प्रतिनिधिसभा क्षेत्र नम्बर २ का उम्मेदवार शिवप्रसाद हुमागाईँले ‘अमुक व्यक्ति’ को कारण काभ्रेलीलाई लागेको दाग यो निर्वाचनबाट पखालिने बताएका छन् । नेपाल तरुण दलले बनेपामा आयोजना गरेको कार्यक्रममा बोल्दै हुमागाईँले निर्वाचन परिणामले त्यो विषय प्रमाणित गर्ने बताएका हुन् ।
‘यसअघि निर्वाचन जितेर गएका यस क्षेत्रका प्रतिनिधिले काभ्रेलीलाई लगाएको दाग सत्य हैन, काभ्रेली जनता स्वाभिमानी छन्, निष्कलंकित छन् भन्ने कुरा मतपरिणामले प्रमाणित गर्नेछन् भन्ने विश्वास लिएको छु,’ उनले भने, ‘आलोचित अनुहार फेरि जिताउने हो र ? काभ्रेलीमाथि लागेको दाग सफा गर्न नै मेरो उम्मेदवारी हो ।’
उनले संविधान निर्माण र रक्षाको लागि तरुणहरूको भूमिका अतुलनीय हुने बताए । युवाहरूको योगदानले नै मुलुकमा संविधान आएको भन्दै उनले यसको रक्षा गर्न पनि युवाहरू लागि पर्नुपर्ने बताए । युवाहरूको सम्मान गर्ने पार्टी नेपाली कांग्रेस भएको भन्दै उनले गगन थापा, विश्वप्रकाश शर्मा जस्ता युवा पार्टीको नेतृत्वमा पुगेको बताए । उनले तरुणहरूको भूमिकाको कदर गर्ने भन्दै सिप र क्षमता अनुसारको जिम्मेवारी प्रदान गर्ने बताए ।
उनले २०५६ सालको निर्वाचनमा आफू प्रतिनिधि सभा सदस्य निर्वाचित भएपछि गरेका कामको फेरिहस्त सुनाए । बनेपा–नाला भक्तपुर सडक, दाप्चा–पनौती–लामाटार–लुभु सडक कालोपत्रे आफूले सुरुवात गरेको भन्दै उनले २०५६ सालमा आफू निर्वाचित भएपछि सुरु गरेको काभ्रे एकीकृत खानेपानी आयोजना सम्पन्न गरेर खानेपानी खुवाउनुले प्रतिबद्धता व्यक्त गरे । सिपाघाटको पुल, कोशिपारीको पुल, नौविसे फाँट, मल्पी –लिलावती, सिपाघाट सिंचाई आफ्नो कार्यकालमा सुरु गरेको भन्दै उनले सूचना प्रविधि (आइटी) पार्क, बनेपा बहुप्राविधिक महाविद्यालय आफ्नो नेतृत्वमा सुरुवात भएको बताए।
कार्यक्रममा प्रदेश सभा क्षेत्र नं २ (ख) का प्रत्यक्षतर्फका उम्मेदवार कञ्चनचन्द्र बादले युवाहरूलाई उचित मुल्याकंनसहित भूमिका दिइने बताए । कार्यक्रममा कांग्रेसका बागमती प्रदेश महामन्त्री राजु श्रेष्ठ, प्रदेश सभा समानुपातिक उम्मेदवार सुरकृष्ण वैद्य, तरुण दल काभ्रेका पूर्व अध्यक्ष समेत रहेका कांग्रेस जिल्ला सदस्य राम जोशी, निर्वाचनका नेपाल तरुण दलको काभ्रे जिल्ला प्रति सुधीर वैद्य, तरुण दल बनेपाका सभापति विजेन रञ्जित लगायतले निर्वाचनमा तरुणहरूको महत्त्वपूर्ण योगदान हुने भन्दै सोही अनुसार परिचालन गर्न नेतृत्वलाई अनुरोध गरे ।



कागजपत्र |
