सत्यमोहन जोशी शिक्षा, ज्ञान र प्रेरणाकाे स्राेत : प्रधानमन्त्री देउवा


काठमाडाैं – प्रधानमन्त्री शेरबहादुर देउवाले संस्कृतिविद् सत्यमोहन जोशीका असल कार्यहरू देशका लागि शिक्षा, ज्ञान र प्रेरणा भएको बताएका छन् । उनले नेपालको भाषा, साहित्य र संस्कृतिको क्षेत्रमा पुर्‍याएका भएको योगदान र लेख्नु भएको कीर्ति संरक्षण र सम्वर्द्धन गर्दै मुलुकको विकास गर्न सके उनको साँचो अर्थमा कदर हुने पनि स्पष्ट पारे ।

स्वर्गीय जोशीको १३औँ पुण्यतिथिको अवसर पारेर शुक्रवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संस्कृतिविद् जोशीलाई देशलाई माया गर्ने सच्चा देशभक्त व्यक्तित्वको रूपमा आफूले चिनेको पनि बताए । प्रधानमन्त्री देउवाले नेपालको साहित्य, संस्कृति र राजनीतिको विभिन्न आयामको साक्षीको रूपमा जोशी रहेकाले उनलाई नेपाल राष्ट्र र नेपाली जनताले कहिल्यै पनि नबिर्सने बताए ।

जोशीलाई नेपालको भाषा, साहित्य र संस्कृतिलाई माया गर्ने मुलुकको निधिको रूपमा चित्रण गर्दै उनले सरकारले त्यसैकारण ‘शताब्दी पुरुष’को रुपमा सम्मान गरेको स्मरण गरे । प्रधानमन्त्री देउवाले जोशीको निधनबाट मुलुकले ठूलो क्षति व्यहोर्नु परेको उल्लेख गर्दै उनले राखेको कीर्ति र योगदानबाट सिकेर देशको विकासमा लागिपर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठले संस्कृतिविद् जोशीको चाहना पूरा गर्न नेपाल भाषालाई व्यवहारिक रुपमै प्रयोगमा ल्याउने कामलाई आफूले तत्काल अघि बढाउने प्रतिवद्धता व्यक्त गरे । उनले स्वर्गीय जोशीले नेपालको संस्कृतिको क्षेत्रमा पुर्‍याएको योगदानको सरकारले सदा कदर गर्ने पनि बताए ।

‘यो नेपाल संवत्‌लाई कसरी व्यवहारमा प्रयोगमा ल्याउने भन्ने कुरा एउटा आम चासोका विषय पनि बनिरहेको छ । सम्माननीय प्रधानमन्त्रीज्यूले पनि यो गर्नुपर्ने काम हो तर यसलाई कसरी वैज्ञानिक बनाउने भन्ने विषयमा चासो राख्नु भएको छ । प्रक्रिया अघि बढाएर यो काम गर्नुस् भन्नु भएको छ । यसलाई अघि बढाउने प्रतिवद्धता व्यक्त गर्दछु’, मन्त्री श्रेष्ठले भने ।

कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले संस्कृतिविद् जोशीको व्यक्तित्व र कीर्तित्वको बारेमा चर्चा गरेका थिए ।

प्रतिक्रिया