

तिहारलगत्तै राजनीतिक व्यस्तता : ओली र लिङदेन संयुक्त कार्यक्रममा, प्रचण्ड पुगे सल्यानटार

काठमाडाैं – आगामी निर्वाचनमा केही स्थानमा तालमेल गर्ने समझदारी गरेका नेकपा एमालेका अध्यक्ष केपी ओली र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन शुक्रवार एक कार्यक्रममा सँगै सहभागी भएका छन् ।
एमाले र राप्रपाले झापाको भद्रपुरमा संयुक्त रूपमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा ओली र लिङदेन एकैसाथ सहभागी भएका हुन्। उक्त क्षेत्रबाट प्रतिनिधि सभातर्फ राप्रपा अध्यक्ष लिङदेन उम्मेदवार छन् । उनलाई एमालेले समर्थन गरेको छ । लिङदेनलाई भोट माग्नका लागि ओली पनि उक्त कार्यक्रममा सहभागी भएका हुन् ।
सत्ता ओलीले गठबन्धनलाई पराजित गर्नका लागि एमाले कार्यकर्ताले राप्रपालाई भोट हाल्नुपर्ने बताए । उनले पार्टीको इज्जत जोगाउन भए पनि गठबन्धनलाई पराजित गर्नै पर्ने र त्यसका लागि राप्रपालाई भोट हाल्न उनले एमाले समर्थकहरूलाई आग्रह गरे ।
तिहारलगत्तै राजनीतिक दलका नेताहरू आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलक्षित कार्यक्रममा व्यस्त हुन थालेका छन् ।
प्रचण्ड सल्यानटारको कार्यक्रममा
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि तिहारलगत्तै राजनीतिक कार्यक्रममा व्यस्त बनेका छन् । भाइटीकाको भोलिपल्ट अर्थात् आज प्रचण्ड धादिङको सल्यानटारमा आयोजित कार्यक्रममा सहभागी बने ।
सत्ता गठबन्धनले आयोजना गरेको कार्यक्रमलाई प्रचण्डले सम्बोधन गरेको उनको सचिवालयले जानकारी दिएको छ । उनी पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसँगै धादिङ पुगेका थिए ।

