

मैत्रीपूर्ण क्रिकेट : नेपाली महिला टोली विजयी

पाेखरा – नेपाली महिला क्रिकेट टोली सम्मिलित नेपाल क्रिकेट संघ (क्यान–११) ले नेपाल भ्रमणमा रहेको बेलायतको मेरिलेबोन क्रिकेट क्लब(एमसीसी)लाई मैत्रीपूर्ण खेलमा पराजित गरेको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा शुक्रवार भएको खेलमा नेपाली टोलीका कप्तान रुबिना क्षत्रीले ह्याट्रिकसहित पाँच विकेट लिएपछि नेपाली टोली १९ रनले विजयी भएको हो ।
खेलमा टस जितेर शुरुआतमा ब्याटिङ गरेको क्यान-११ ले निर्धारित २० ओभरको खेलमा नौ विकेट गुमाउँदै ९९ रन जोडेको थियो । क्यान–११ का नेरी थापाले ३१ बलमा दुई चौकासहित सर्वाधिक १८ रन बनाएका थिए । खेलमा जितका लागि एक सय रनको विजयी लक्ष्य पछ्याएको एमसीसी १९ ओभरको पाचौँ बलमा सबै विकेट गुमाएर ८० रन मात्र बनाउन सफल भयो ।
एमसीसीका लागि एलिसा हुबर्डले २८ बलमा सर्वाधिक २० रन बनाउँदै अविजित रहे । एमसीसीका लागि अन्तिम ओभरमा जितको लागि २० रनको खाँचो थियो । अन्तिम ओभर बलिङ गरेकी रुबिनाले अन्तिम पाँच बलमा चार विकेट लिन सफल भइन् ।
रुबिनाले दोस्रो, तेस्रो, चौथो बलमा विकेट लिँदै ह्याट्रिक पूरा गर्दा पाँचौ बलमा समेत विकेट लिएपछि एमसीसी नेपाली टोलीसँग पराजित हुन पुग्यो । खेलमा ‘प्लेयर अफ दि म्याच’ घोषित नेपाली टोलीका कप्तान क्षेत्रीलाई पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले पुरस्कार वितरण गरेका थिए ।
नेपाल भ्रमणमा रहेको एमसीसीले पोखरामा दुई ‘टी–२०’ र दुई ‘एक दिवसीय’ खेल खेल्ने छ । शनिवार एकदिवसीय खेल खेल्ने तालिका रहेको कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए ।

