सन्दीपविरुद्ध आज अभियोगपत्र दर्ता हुँदै, तिहारभरि गौशालाको हिरासतमै राखिने !


काठमाडौं — क्रिकेटर सन्दीप लामिछानेविरुद्ध आज अभियोग पत्र दर्ता गरिने भएको छ । बलात्कारको आरोपमा विगत १६ दिनदेखि हिरासतमा रहेका लामिछानेविरुद्ध आइतबार जिल्ला अदालत काठमाडौंमा अभियोगपत्र दर्ता गरिने जनाइएको छ ।

स्रोतका अनुसार प्रहरीले शुक्रबार अपरान्ह अनुसन्धान प्रतिवेदन काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयलाई बुझाएको थियो। सरकारी वकिल कार्यालय स्रोतले आइतबार अभियोगपत्र दर्ताको तयारी भइरहेको बतायो।

‘अनुसन्धान प्रतिवेदन अध्ययन गरेर अभियोग पत्र तयार र दर्ताको काम सम्भवत आज सकिने छ’, एक अधिकारीले भने। आज अभियोग पत्र दर्ता भएपनि तिहार नसकिँदासम्म सन्दीप प्रहरी हिरासतमै रहने सम्भावना छ। सोमबारदेखि अदालत विदा हुने भएकाले बयान र थुनछेक बहसको काम प्रभावित हुने भएको हो।

सन्दीप असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन्। उनीमाथि १७ वर्षीय किशोरीले बलात्कारको आरोप लगाएकी छिन्।

प्रतिक्रिया