यौनकर्मीको कथा : एचआईभी एड्सलाई कण्डम, कोरोनालाई के ?


काठमाडौं– ‘ए हजुर कता, शरिरको समाज यता’ भनी काठमाडौंको रत्नपार्क र आसपासमा झमक्क साँझ परेपछि देखिने यौनकर्मीको संख्या ह्वात्तै घटेको छ ।

लक डाउन, निषेधाज्ञा र ठूलो भिडभाड नगर्नका लागि प्रशासनको कडा उर्दी एकातिर अर्कातिर कोरोना भाइरस (कोभिड–१९) संक्रमणको त्रासदीले काठमाडौंको अघोषित रेडलाइट एरियामा गुजारा चलाउनेहरूको हरिबिजोग भएको छ ।

उमेरले ४०–४५ की देखिने प्रियालाई अहिले निक्कै कठिन भएको छ दैनिकी चलाउन । दिनभरी अर्काको चुल्होचौकाको काम सकेर ५ बजेपछि रत्नपार्कलाई थलो बनाएर काठमाडौंमा बस्दै आएकी उनले फाट्ट फुट्ट हिँडेका बटुवालाई कोट्याई कोट्याई सोध्नुपर्छ– जाने हो ?

कतिपयले गाली गर्छन्, कतिपयले जवाफ दिन्छन्– अरु काम छैन ? यसको अर्थ हो, उनको पेशा संकटमा पर्न थालेको छ । ‘ग्राहक आउँदैनन्, मान्दैनन् । सस्तो कुरा गर्दा पनि जाने मान्छे बिरलै भेटिन्छन्’, उनको आशययुक्त उत्तर अनलाईन न्युज सेभेनलाई सुनाउँदै सोध्छिन्,‘तपाईँ जाने हो ?’

यो प्रियाको मात्र कथा होइन । काठमाडौंमा ‘ओपन सेक्रेट’ रहेको रत्नपार्क र वरिपरिका धेरै यौनकर्मीको यथार्थ चित्र हो, ०७७, बैशाखयता । विश्वभर फैलिएको कोरोना महामारीको प्रत्यक्ष र परोक्ष असरमा छन् शरिरको घन्टा र दिनमा आम्दानीका निम्ति सौदाबाजी गर्नेहरू । 

तीन महिनासम्म दुई छाक टार्नका निम्ति सम्पर्कमा रहेका कतिपयसँग एक हजार–दुई हजार माग्न विवश भएका उनीहरूले अलिक खुकुलो भएपछि रत्नपार्कलाई फेरि केन्द्रविन्दु बनाउन सुरु गरेका थिए । तर उपत्यकामा महामारी बढ्ने भएपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको समयमा उस्तै समस्या आईलाग्यो ।

अनलाइनन्युज सेभेनको अनुसन्धानका क्रममा भेटिएका केही यौनकर्मीले ‘महामारीका कारण सबैभन्दा समस्यामा आफूहरू परेको’ गुनासो सुनाएका थिए ।

सबिता भन्छिन्,‘अहिले काठमाडौं उपत्यकामा मानिसहरू आउने जाने क्रम छैन, यसले हामीलाई घाटा भएको छ । पहिलाको जस्तो दिनचर्या छैन । एकै दिन ४ जनासम्म ग्राहकलाई सेवा दिँदा ८ देखि १० हजार कमाई हुन्थ्यो, त्यहि शैलीमा बाँचिन्थ्यो, अहिले सय–५० रुपियाँ देख्न पनि मुस्किल भएको छ ।’

एकातिर हातमुख जोर्ने समस्याको कथा छँदै छ अर्कातिर यौनकर्म चलाउनै खोजे पनि ग्राहक नै डराउने र ग्राहकसँगै डराउनुपर्ने अवस्था भयो, कोरोना संक्रमणको त्रासदी ।

‘बाँच्नु पहिलो सर्त भयो । अहिलेसम्म के रोग लागेको छ भनेर परिक्षण गरिएको छैन । तर, काम नै गर्दा पनि कोरोना भयो भने त्यससँग कसरी बाँच्ने ?’, रुबिना प्रश्न गर्छिन्,‘हाम्रो काममा सबैभन्दा डर एचआईभी एड्सको थियो जसलाई कण्डमको प्रयोगले सुरक्षित महसुस हुन्थ्यो तर कोरोनासँग जोगिनका लागि के–को प्रयोग गर्ने ? त्यसैले पनि संकट आई लागेको छ ।’

अनुमानित तथ्यांकअनुसार कोरोना महामारीका कारण रत्नपार्क वरिपरिमात्र जीविकोपार्जनका निम्ति आउने कम्तिमा २ हजार बढी यौनकर्मी प्रत्यक्ष प्रभावित भएका छन् । सडकमा उभिएर यसरी प्रभावित हुनेमा तेस्रो लिङ्गी यौनकर्मी पनि रहेको जानकारहरू बताउँछन् ।

उनीहरूको मात्र आम्दानी घटेको छैन, सम्पर्कमा रहेका कतिपय गेष्ट हाउस त टाट नै पल्टिने अवस्थामा छन् । सुन्धाराका एक गेष्ट हाउस सञ्चालक भन्छन्,‘दिनमा चार पटकसम्म भाडा लगाउँदा एउटै कोठाबाट ४ हजारसम्म आम्दानी हुने गरेको थियो । अहिले त ४ सयमा लाउँछु भन्दा पनि ग्राहक भेटिँदैन ।’

प्रतिक्रिया