

निर्वाचनसम्बन्धी झुटो सूचना प्रकाशन भएमा रिपोर्ट गर्न फेसबुकको आग्रह

काठमाडौं – आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका सन्दर्भमा कुनै मित्थ्या सूचना वा हेट स्पिचहरू फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपमा पोस्ट वा सेयर भएको देखिए त्यसबारे रिपोर्ट गर्न मेटा (फेसबुक) ले आग्रह गरेको छ । त्यसरी रिपोर्ट गर्दा आफूहरूले ती पोस्टको समीक्षा गरी आवश्यक परे हटाउन सहज हुने मेटाका प्रतिनिधिले बताएका छन् ।
‘कसैले आचार संहिताविपरीत फेसबुकबाट निर्वाचनसम्बन्धी प्रचार प्रसार गर्यो भने जोसुकैले रिपोर्ट गर्न सक्छन्,’ दक्षिण एसियाका लागि मेटाकी पब्लिक पोलिसी हेड आयशा हसेम भन्छिन्, ‘सुरुमा हाम्रो आर्टिफिसियल इन्टेलिजेन्सले त्यसको पहिचान गर्छ । त्यसपछि पनि चित्त नबुझे हाम्रो टिमले थप अध्ययन गरेर प्रक्रिया अघि बढाउँछ ।’
मेटा कम्पनीमा नेपाली भाषा बुझ्ने कर्मचारी रहेकाले नेपालीमा लेखिएका कन्टेन्टको पनि चाँडै सुनुवाइ हुने उनले बताइन् । साथै, प्रयोगकर्ताले नेपाली भाषामै रिपोर्ट (उजुरी) लेखेर पठाउन सक्ने उनको भनाइ थियो ।
यो साता निर्वाचन आयोग र मेटाका प्रतिनिधिले ‘नेपाल इलेक्सन इन्टेग्रिटी सम्मिट’ आयोजना गरी राजनीतिक दल, नागरिक समाज, पत्रकार र अन्य सरोकारवाला पक्षलाई फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपका टुल तथा नीतिहरूबारे अवगत गराएका थिए । नेपाल र अफगानिस्तानका लागि मेटाकी प्रतिनिधि हसेमले आफूहरूका प्लाटफर्ममा कुनै नकारात्मक सामग्री देखा परे स्क्रिन सट लिएर पोस्ट, कमेन्टको रिपोर्ट गर्न अनुरोध गरेकी छन् ।
हाल नेपाल आएकी उनले पछिल्ला दुई महिनायता आयोग, नागरिक समाजका साझेदारहरूसँग नजिकबाट काम गरिरहेको बताइन् । निर्वाचनलाई लक्षित गरेर एड ट्रान्सपरेन्सी टुल, आयोग–मेटाबीच सिधा सम्पर्कको माध्यमलगायत टुल सार्वजनिक गरेको आशयाले बताएकी छन् । साथै, डिजिटल साक्षरता र अनलाइन सुरक्षासम्बन्धी तालिमहरू पनि आयोजना गरिरहेको उनको भनाइ छ ।
बिहीबार मेटाका पब्लिक पोलिसी एसोसिएट म्यानेजर राघव रंगनाथन, सेफ्टी पोलिसी म्यानेजर मलिना इन्लन्ड र साइबर सेक्युरिटी पोलिसी म्यानेजर भुम भुमिरतनले नेपाली पत्रकारहरूलाई मेटाका नीतिहरूबारे जानकारी दिएका थिए ।

