संगठनपछि मुलुक हाँक्ने ‘अभिलाषा’मा प्रहरीका पूर्व ६ उच्च अधिकृत !


काठमाडौं – आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनमा प्रहरीका ६ पूर्व उच्च अधिकृतहरुले उम्मेदवारी दिएका छन् । ती मध्ये ४ जना उपत्यकाबाटै चुनावी मैदानमा प्रतिनिधिसभाका लागि उत्रिएका छन् भने १ जना लुम्बिनी प्रदेशको पश्चिम नवलपरासीबाट प्रतिनिधिसभा र एकजना सुदूरपश्चिमको अछामबाट प्रदेशसभा सदस्यका लागि चुनाबी मैदानमा छन् ।

अवकाश वा सेवानिवृत्तपछिको जीवन सक्रिय बनाउने अभिलाषाका साथ राजनीतिक दलको फेरो समात्दै उनीहरु निर्वाचनको मैदानमा होमिएका हुन् । ५ जना नेपाल प्रहरीका उच्च अधिकृत छन् भने एक जना सशस्त्र प्रहरी बलबाट अवकाश पाएका अधिकृत चुनावी मैदानमा छन् ।

नेपाल प्रहरीको संगठनको नेतृत्व सम्हालेका र नेतृत्वका लागि दाबी गर्दागर्दै असफल भएपछि संगठन छाडेका उच्च अधिकृतहरुले राजनीतिलाई शक्तिमा रहने अर्को साधन बनाउँदै निर्वाचनमा होमिएका छन् ।

नेपाल प्रहरी जस्तो गाैरव बोकेको संगठनको नेतृत्व गरेका पूर्व प्रहरी महानिरीक्षक ध्रुवबहादुर प्रधानले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । प्रधानले पश्चिम नवलपरासीको क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका हुन् । प्रधानले नेपाली कांग्रेसका देवेन्द्रराज कँडेलसँग प्रतिस्पर्धा गर्दैछन् ।

प्रहरी महानिरीक्षक (आईजी) फूली लगाउनका लागि असफल भएपनि तत्कालिन प्रहरी नायब महानिरीक्षक (डिआईजी) नवराज सिलवालले नेकपा एमालेबाट यसअघि अर्थात् २०७४ को निर्वाचनमा ललितपुर–१ बाट प्रतिनिधिसभाको सदस्यको फूली लगाउन सफल भएका थिए । उनी अहिले पनि सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका छन् । सिलवालले यसअघिको निर्वाचनमा नेपाली कांग्रेसका उदयशमशेर राणालाई पराजित गरेका थिए । अहिले पनि सिलवाल–राणाकै भिडन्त हुने भएको छ ।

त्यस्तै अर्का डिआईजी रमेश खरेल पनि आईजी हुन असफल भएपछि तत्कालै राजीनामा दिएर राजनीतिमा होमिएका थिए । अभियन्ताको रुपमा सामाजिक क्षेत्रमा खटिएका खरेलले राजनीतिक दल नै दर्ता गरेर प्रत्यक्ष राजनीतिमा सक्रिय देखिए । नेपाल सुशासन पार्टी नामक दल दर्ता गरेका खरेलले अहिले काठमाडौं क्षेत्र नं. १ बाट उम्मेदवारी दिएका छन् । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको पकेट क्षेत्रका रुपमा चिनिएको काठमाडौं क्षेत्र नं. १ मा खरेलका अलवाला राप्रपाका रविन्द्र मिश्र र राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले पनि उम्मेदवारी दिएका छन् ।

यसअघिको निर्वाचनमा उक्त क्षेत्रमा प्रकाशमान सिंहले विवेकशील साझाका रविन्द्र मिश्रलाई ८ सय मतान्तरले पराजित गरेका थिए ।

त्यस्तै सशस्त्र प्रहरी बलबाट अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) बाट अवकाशप्राप्त डा. ठाकुरमोहन श्रेष्ठ पनि आगामी निर्वाचनका लागि होमिएका छन् । सशस्त्रबाट बिदा लिए पछि राप्रपासँग आबद्ध भएर राजनीति गरेका श्रेष्ठले काठमाडौं क्षेत्र नं. ४ बाट उम्मेदवारी दिएका छन् । उनको क्षेत्रमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा र नेकपा एमालेका डा. राजन भट्टराईले पनि उम्मेदवारी दिएका छन् ।

त्यस्तै प्रहरी संगठनमा रहँदा सफल कमाण्डरको छवि बनाएका सर्वेन्द्र खनाल पनि अहिले निर्वाचनको मैदानमा उत्रिएका छन् । नेपाल प्रहरीको नेतृत्व सम्हालेर अवकाश भईसकेपछि राजनीतिमा चासो राख्ने गरेका खनाल अन्ततः निर्वाचन घोषणा भईसकेपछि नेकपा एमालेमा समाहित बन्न पुगे । निर्वाचन घोषणा भईसकेपछि एमाले प्रवेश गरेकाले उनलाई टिकटको पक्कापक्की गरेर पार्टी प्रवेश गरेको आशंकासमेत गरिएको थियो । त्यही आशंकालाई थप मलजल गर्दै पार्टीले उनलाई राजधानी काठमाडौंको क्षेत्र नं. ६ बाट टिकट दियो । गृहजिल्ला तनहुँ–१ बाट उम्मेदवारी दिने बजारहल्ला सुनिइरहेको बेला काठमाडौं–६ बाट उम्मेदवारी दिइनुमा खनाल कांग्रेस नेता रामचन्द्र पौडेलसँगको प्रतिस्पर्धाका लागि तयार नभएको मानिएको छ । तुलनात्मक रुपमा नेपाली कांग्रेसको बलियो क्षेत्रका रुपमा मानिएको काठमाडौं – ६ बाट उम्मेदवारी दिएका खनालले यसपटक नेपाली कांग्रेसका नेता एवं पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानसँग प्रतिस्पर्धा गर्दैछन् ।

त्यस्तै अर्का प्रहरी अधिकारी पूर्व एसएसपी मानबहादुर रावलले पनि उम्मेदवारी दिएका छन् । नेपाली कांग्रेस अछाम क्षेत्र नं. २ को प्रदेश सभा (क) बाट उम्मेदवारी दिएका रावल नेकपा एमालेका शिवप्रसाद उपाध्यायसँग प्रतिस्पर्धा गर्ने भएका छन् ।

प्रतिक्रिया