
दरबारमार्गमा क्लबका बाउन्सरमाथि आक्रमण गर्ने ८ जना पक्राउ
काठमाडाैं – दरबारमार्गस्थित प्लाटिनम क्लबका बाउन्सरमाथि आक्रमण गर्ने ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । ती आक्रमणकारीले सो क्लबका दुई जना बाउन्सरमाथि पिछा गरेर हत्या गर्ने योजनाका साथ आक्रमण गरेको प्रहरीले जनाएको छ ।
ती आक्रमणकारीले खुकुरी, बोतल, ईंटानलगायतले ती दुई जनामाथि प्रहार गरेका थिए । आक्रमणमा दुईजना गम्भीर घाइते भएका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले दोलखा प्रहरी बौद्ध प्रहरी वृत्तको सहयोगमा पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा दोलखा घर भई जोरपाटी बस्ने ३३ वर्षीय जीवन तामाङ, सिन्धुपाल्चोक घर भई गोकणेश्वर बस्ने २७ वर्षीय दोर्जे शेर्पा, दोलाखा घर भई गोकणेश्वर बस्ने २९ वर्षीय विनोद तामाङ, रामेछाप घर भई गोकणेश्वर वस्र्ने २८ वर्षीय विकास श्रेष्ठ, दोलखा घर भई जोरपाटी बस्ने २९ वर्षीय प्रदिप तामाङ, काभ्रे घर भई गोकणेश्वर बस्ने ३२ वर्षीय दिपेन लामा र काठमाडौं चाबहिलका २६ वर्षीय करण डंगोल रहेका छन् ।
प्रहरीले उनीहरूको साथबाट खुकुरी, रगत लतपतिएका कपडा र मोटरसाइकल बरामद गरेको छ । प्रहरीले उनीहरूमाथि ज्यान मार्ने उद्योग कसूरमा अनुसन्धान गरिरहेको छ । जिल्ला अदालत काठमाडौंले उनीहरूलाई ७ दिन थुनामा राखी अनुसन्धान गर्न अनुमति दिएको छ ।



कागजपत्र |
