न्यायाधीशहरुलाई वर्षमानको प्रश्नः ओलीले अदालतमा सेटिङ मिलाएको छु भनेका छन्, कुरा के हो ?


रोल्पा – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य वर्षमान पुन अनन्तले संसद विघटनविरुद्ध विचाराधीन मुद्दाको फैसला गर्ने क्रममा सर्वोच्च अदालत प्रधानमन्त्री केपी ओलीको दबाब, प्रलोभन र धम्कीमा नपर्ने विश्वास व्यक्त गरेका छन् ।

पुनले अदालतले संविधानको मर्म, भावना र अक्षरका आधारमा न्यायोचित फैसला गर्नुपर्ने बताए । संसद विघटनलाई ओली समूहबाहेक सबै राजनीति दल, पूर्वप्रधानन्यायाधीश, पूर्वन्यायाधीश, कानूनविद, नागरिक अगुवा, सामाजिक अभियन्ता र सार्वजनिक सञ्चार माध्यम सबैले असंवैधानिक भनेकाले प्रतिनिधिसभा पुर्नस्थापनाको विकल्प नरहेको उनको भनाइ थियो ।

प्रधानमन्त्री केपी ओली र उनको समूहका मानिसहरूले सर्वोच्चमा सेटिङ मिलाएकाले प्रतिनिधिसभा विघटन सदर हुने हल्ला चलाउँदै हिंडेको भन्दै त्यसमा सचेत रहन अदालतलाई पुनले आग्रह गरेका छन् ।

यदि चर्चा गरिएजस्तै सेटिङ भएको भए त्यसको प्रतिवाद गरिने चेतावनी उनले दिए । ‘हामीलाई विश्वास छ, संविधानको अक्षर र भावनाअनुसार फैसला आउनेछ । हामी सर्वोच्चको फैसलालाई सम्मान गर्छौ र स्वीकार पनि गर्छौ’, गृहजिल्ला रोल्पाको सुलीचौरमा संसद विघटनविरुद्ध आयोजित विरोध सभालाई सम्बोधन गर्दै पुनले भने, ‘तर, केपी ओली र त्यो प्रवृत्तिका मान्छेले सेटिङका कुरा गरेका छन् । सेटिङ जहिले पनि अलोकतान्त्रि, षड्यन्त्रकारी र जनविरोधी होन्छ, त्यस्ता सेटिङको हामी सडकमा भण्डाफोर गर्छौं । आमजनता उतारेर प्रतिवाद गर्छौं ।’

नेकपाको मुलधार प्रचण्ड–नेपालले नेतृत्व गरेको नेकपा रहेको र ओलीको नेतृत्वमा सानो गुट चोइटिएर गएको भन्दै उनले विचार, राजनीति र निष्ठा नभएको ओली समूहको भ्रममा नपर्न कार्यकर्तालाई अपिल गरे ।

प्रतिक्रिया