

समानुपातिक बन्दसूची बुझाउने अन्तिम दिन आज

काठमाडौँ- आउँदो मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको बन्दसूची राजनीतिक दलले आज बुझाउँदैछन्। निर्वाचन आयोगले आइतबार र सोमबारलाई बन्दसूची बुझाउने समय तोके पनि अधिकांश दलले आज बुझाउँदैछन्।
आइतबार साना चार दलले मात्रै बन्दसूची बुझाएका छन्। आइतबार नेपाल समावेशी पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टी, नेपाल खम्बुवान साझा पार्टी र ताम्सालिङ् लोकतान्त्रिक पार्टीले सामानुपातिकतर्फको बन्दसूची बुझाएका छन्।
आयोगका अनुसार प्रदेश १ बाट नेपाल खुम्बुवान पार्टी र बागमतीबाट ताम्सालिङ लोकतान्त्रिक पार्टीले बन्दसूची बुझाएका हुन्। प्रतिनिधिसभाको समानुपातिकका लागि विभिन्न दलका ६८ वटा निवेदन परेको आयोगले जनाएको छ।
निवेदन दिएका सबै दलले बन्दसूची बुझाएमा समानुपातिकका उम्मेदवार मात्रै करिवव २० हजार हुने आयोगले जनाएको छ। मिश्रित निर्वाचन प्रणालीअनुसार प्रदेश र प्रतिनिधिसभामा ४० प्रतिशत सदस्य समानुपातिक प्रणालीबाट आउने व्यवस्था रहेको छ। यस व्यवस्था अनुसार प्रतिनिधि सभामा एक सय १० र प्रदेश सभामा दुई सय २० सांसद समानुपातिकबाट चयन हुने छन्।
समानुपातिक निर्वाचन प्रणालीमार्फत प्रदेश १ मा विभिन्न ६३ दलबाट ५५ निवेदन, मधेश प्रदेशबाट ६७ दलबाट ५९ निवेदन, बागमती प्रदेशमा ६६ दलबाट ५८ निवेदन, गण्डकी प्रदेशमा ६० दलबाट ५२ निवेदन, लुम्बिनी प्रदेशमा ६२ दलबाट ५४ निवेदन, कर्णाली प्रदेशमा ५७ दलबाट ४९ निवेदन र सुदूरपश्चिम प्रदेशमा ५८ दलबाट ५० निवेदन परेका छन्।
प्रमुख दलहरूले भने आजमात्रै बन्दसूची बुझाउने तयारी गरेका छन्। दलहरू बन्दसूचीका लागि आन्तरिक छलफलमा छन्। ठूला दलमा भने भागबन्डा नमिल्दा समस्या देखिएको छ। नेकपा एमालेले शनिबार र आइतबार सचिवालयको बैठक बसेर समानुपातिकको बन्दसूची तय गरेको छ। यता सत्तारुढ दल नेपाली कांग्रेसलले भने आकांक्षी बढी भएकाले उम्मेदवार तय गर्न सकेको छैन। माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीको पनि आजै बैठक बसेर उम्मेदवार तय हुने बताइएको छ।

