


‘अब पत्रकारहरूले कालोझण्डा बोकेर हिँड्नुपर्ने दिन आउँदैन’

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नयाँ जनादेशमा जानका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेको बताएका छन् ।
ओली समूह निकट नेपाल प्रेस संगठनले राजधानीको राष्ट्रिय सभागृहमा बिहीबार आयोजना गरेको भेलामा बोल्दै उनले यस्तो बताएका हुन् । नेपालका पत्रकारहरूले कालोझण्डा देखाउन नपर्ने गरी सरकारले काम गर्ने समेत दावी गरेका छन् ।
मन्त्री गुरुङले सञ्चारकर्मीको योगदानलाई सरकारले उच्च मुल्यांकन गर्ने समेत बताएका छन् । उनले मुलुकमा भएका विभिन्न राजनीतिक परिवर्तनका क्रममा सञ्चारकर्मीले गरेको योगदानलाई सम्मान गर्न सरकारको प्रयास भएपनि केही मिडिया र सञ्चारकर्मीले पत्रकार आचारसंहिता विपरित आफ्ना गतिविधि गरिरहेको आरोप लगाउँदै असन्तुष्टि जनाए ।
‘केही पत्रकारहरूले बाटो विराएको, आचारसंहिता विपरित हिडेको त होइन ? भनेर प्रश्न उठेको छ’ मन्त्री गुरुङले भने, ‘राजनीतिक संकटका बेला गरिमा र मर्यादालाई घटाउने काम नगर्नुस् । हामी चाहान्छौँ नेपालको संविधान र सार्वभौमिकताको रक्षा गर्ने पत्रकारका रुपमा बुझ्नुपर्नेमा द्वन्द्व बढ्ने किसिमको भूमिका देखिएको त होइन भनेर प्रश्न उठेको छ ।’
मन्त्री गुरुङले सरकारका गलत क्रियाकलापबारे सञ्चारकर्मीले चलाएको कलमप्रति असन्तुष्टि जनाए ।

