तमसुककै भरमा ट्रक बेचेका राजराम ठगिए

ट्रक किनेका चौधरी बेवारिसे अवस्थामा छाडेर फरार


कञ्चनपुर – तमसुक र पैसा नभएको चेक दिई धनगढीका एक व्यक्ति ट्रक लिएर फरार भएका छन् । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका वडा नं. ७ मनिहरा बस्ने दीपक चौधरीले कन्चनपुरका ट्रक किन्ने भन्दै भिमदत्त नगरपालिका-५ सुकासाल बस्ने राजराम दमाइलाई पैसा नभएको अरूकै नामको चेक दिएर फरार भएका हुन् ।

आफुलाई देबराज राना बताउँदै चौधरीले दमाईको ना ४ ख ६४८१ को मिनी ट्रक ६ लाख रुपैंयाको तमसुक बनाएर लिएर गएका हुन् । चौधरीले एक महिनाभित्रमा रकम चुक्ता गर्ने भन्दै तत्कालका लागि अरुकै नामको ४५ हजार रुपैंया बराबरको राष्ट्रिय बाणिज्य बैंकको चेकसमेत दिएका थिए । तर उक्त खातामा पैसा समेत नभएको दमाइले जनाए ।

तीन महिनासम्म पनि चौधरी सम्पर्कमा नआएपछि दमाइले खोजतलासका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् । निवेदनपछि खोजतलासमा खटिएको प्रहरीले उक्त ट्रक श्रेष्ठ मोटर पार्टसमा बेवारिसे अबस्थामा फेला पारेको छ । ग्यारेजमा रहेको उक्त ट्रकका दुइवटा चक्का र महत्वपुर्ण पार्टपूर्जा निकालिएको अबस्थामा फेला परेको प्रहरी नायब निरीक्षक सुरेन्द्र नाथले जनाए ।

लामो समयदेखि सम्पर्कमा नरहेका चौधरीको खोजि जारी राखिएको पनि नाथले जनाए । उनका अनुसार चौधरी सुदुरपश्चिमका पहाडी जिल्ला अथवा छिमेकी मुलुक भारततिर गएको हुन सक्ने  प्रहरीले अनुमान गरेको छ । चौधरीविरूद्ध यसअघि पनि ठगीको आरोप लाग्ने गरेको थियो ।

 

प्रतिक्रिया