सुन तस्करीसँग साँठगाँठ रहेका सई कार्कीलाई हेडक्वार्टर तानियो, छानबिनका लागि डीएसपीको नेतृत्वमा समिति गठन


काठमाडौं – प्रहरी प्रधान कार्यालयले सुन तस्करीसँगको साँठगाँठ रहेका भनिएका गृहमन्त्री बालकृष्ण खाँणको निजी सुरक्षामा खटिएका पीएसओ बरिष्ठ प्रहरी नायब निरीक्षक (सई) टंक कार्कीमाथि छानबिन सुरु गरेको छ ।

सुन तस्करीमा संलग्न व्यक्तिसँग आर्थिक लाभ लिएको प्रहरी महानिरीक्षक सचिवालयमा परेको निवेदन र सञ्चारमाध्यममा समाचार छापिएका समाचार आधारमा प्रधान कार्यालयले कार्कीमाथि छानबिन सुरु गरेको हो ।

प्रहरी नायब उपरीक्षक (डीएसपी) को नेतृत्वमा एक छानबिन समिति बनाएर अनुसन्धान सुरु गरेको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी टेकप्रसाद राई बताए ।

प्रहरीका अनुसार यूएईबाट ५० ग्रामका दरले विभिन्न व्यक्तिबाट सुन ल्याएर काठमाडौंमा संकलन गर्ने गिरोहसँग उनको सम्बन्ध रहेको आशंका गरिएको छ ।

प्रहरीका अनुसार १६ असारमा सुनसहित पक्राउ परेका एक व्यक्तिलाई अभद्र व्यवहारको कसूरमा प्रहरी वृत्त गौशालाको हिरासतमा राखिएको थियो । थुनामा राखेका बेला उनले ती व्यक्तिको गाडीबाट नगद ४ लाख रुपैयाँ लगेको अभियोग छ ।

अधिकृतहरुका अनुसार वैदेशिक रोजगारीबाट फर्किने व्यक्तिहरुलाई सुन बोकाएर पठाउने गिरोहको सुन पक्राउ परेका व्यक्तिले काठमाडौंमा फिर्ता नगरेपछि लफडा भएको थियो । त्यसपछि कार्कीले पैसा उठाउन भूमिका खेलेको हुनसक्ने आशंका गरिएको छ । थप विषयहरु छानबिनपछि खुल्ने डीआईजी राईले बताए ।

प्रतिक्रिया