ब्रेकिङः जिल्लाको आदेश उल्टाउँदै उच्च अदालतले माग्यो डिएसपी ढुंगेलसँग एक लाख धरौटी


रवि धामी

काठमाडौं– जिल्ला अदालत काठमाडौंले गरेको आदेश उल्ट्याउँदै उच्च अदालत पाटनले प्रहरी नायव उपरिक्षक (डिएसपी) कुमोद ढुङ्गेललाई एक लाख धरौंटी माग गरेको छ ।

आपराधिक गतिविधीमा जोडिएपछि डिएसपी ढुङ्गेलविरुद्ध एक बर्ष अगाडी जिल्ला अदालत काठमाडौंमा लुटपाटको मुद्दा दर्ता भएको थियो।

उक्त मुद्दामा थुनछेक पछि जिल्ला न्यायधिश कोमलप्रसाद आर्चायले डिएसपी ढुङ्गेललाई साधारण तारेखमा छाड्ने आदेश दिएका थिए।

सरकारी वकिल कार्यलयले दर्ता गरेको १७ नम्बर निवेदनमाथि उच्च अदालत पाटनले जिल्लाको आदेश उल्टाउँदै एक लाख रुपैंया धरौटी माग गरेको हो।

‘प्रतिवादीलाई अहिले नै अपराधमा कसुरदार छैनन् भन्ने अवस्था मिसिल संलग्न कागजातबाट पुष्टि हुने आधार नभएको’ भन्दै उच्च अदालत पाटनले डिएसपी ढुङ्गेलसँग गत साता धरौटी माग गरेको छ।

जिल्ला अदालतले साधारण तारेखमा छाडेपछि डिएसपी ढुंगेलको निलम्बन फुकुवा भएको थियो। तर उच्च अदालतको आदेशले डिएसपी ढुङ्गेल पुनः निलम्बन हुने भएका छन्।

उच्च स्रोतका अनुसार डिएसपी ढुङ्गेल उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च अदालत जाने तयारीमा छन् । तर प्रहरी प्रवक्ता प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) बसन्त कुवँरले भने उच्चको आदेश बारेमा जानकारी नभएको बताए।

सरकारी वकिलको कार्यालयबाट जानकारी आउनु पर्ने हो अहिलेसम्म नआएको प्रवक्ता कुवँरले बताए । उनले भने, ‘जिल्लाको आदेशविरुद्ध उच्च अदालतले धरौंटी माग गरेको तथ्य भए निलम्बन जारी रहन्छ।’

प्रहरी प्रधान कार्यालयमा डिएसपी ढुङ्गेल कार्यरत छन्। 

२६ चैत २०७६ मा रानीबारीस्थित लालेन्द्र शेरचनको घरमा भएको लुटपाटको घटनामा डिएसपी ढुङ्गेलको संलग्नता खुलेको थियो। ढुंगेल तत्कालिन समयमा इलाका प्रहरी कार्यालय चन्द्रानिगाहापुर (रौतहट) मा कार्यरत थिए ।

अपराध महाशाखाको अनुसन्धानले डिएसपी ढुङ्गेलको संलग्नता देखिएपछि महानगरीय प्रहरी आयुक्तको कार्यालयले कारबाहीको लागि प्रहरी प्रधान कार्यालयलाई सिफारिस गरेको थियो। त्यसबेला हालका प्रहरी महानिरिक्षक (आईजी) शैलेश थापा क्षत्री आयुक्त कार्यालय प्रमुख थिए

डकैतीमा संलग्न व्यक्तिसँग डिएसपी ढुङ्गेलको फोन सम्पर्कदेखि म्यासेज आदान प्रदानसम्म भएको तत्कालिन समयमा प्रहरीको अनुसन्धानबाट खुलासा भएको थियो। 

डकैती अभियोगमा तत्कालिन पक्राउ परेका विकास श्रेष्ठसँग ढुङ्गेलले पटक–पटक सम्पर्क गरेको देखिएपछि अनुसन्धानको दायरामा तानिएका थिए ।

अपराध महाशाखाको अनुसन्धानले डिएसपी ढुङ्गेलको संलग्नता देखिएपछि महानगरीय प्रहरी आयुक्तको कार्यालयले कारबाहीको लागि प्रहरी प्रधान कार्यालयलाई सिफारिस गरेको थियो। त्यसबेला हालका प्रहरी महानिरिक्षक (आईजी) शैलेश थापा क्षत्री आयुक्त कार्यालय प्रमुख थिए।

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले ६ वैशाखमा चन्द्रगढी नगरपालिकाका ३८ वर्षीय नवराज तामाङ, ३६ बर्षिय बिक्रम श्रेष्ठ र नुवाकोट बेलकोटगढीका २८ वर्षीय दीपेश भन्ने सन्तबहादुर तामाङलाई नियन्त्रणमा लिएको थियो।

उनीहरुले प्रयोग गर्ने बा३च ७१६४ कलेजी रङको ट्याक्सी र बा२ज ३०६१ नम्बरको गाडी समेत प्रहरीले बरामद गरेको थियो । उनीहरुले शेरचनकी श्रीमती भानुदेवी शेरचनको घरमा रेखदेख गर्ने मिठु थकालीलाई धारिलो हतियार खुकुरी, रड देखाएर गर गहनासहित ५ लाख लुटेको अनुसन्धानले खुलेपछि कारबाही चलाइएको थियो।

प्रतिक्रिया