एउटा मिटरव्याजीको कथा


काठमाडौं– ऋण दिएर करोडौं असुली गर्ने मिटरब्याजीले अदालतलाई सेटिङमा राखी धरौटीमा छुटेका छन्। जसले लाख लगानी गरी अपराधको बाटोबाट करोडौं असुल गर्दै आएका थिए।

गिरोह नै चलाएका बिराटनगरका एजाज अहमदलाई जिल्ला अदालत मोरङले पाँच लाख धरौटीमा छाड्न आदेश दियो। जसका अपराधका श्रृङ्खला कम छैनन्। प्रहरीले संगठित रुपमा मिटरब्याजमा पैसा लगानी गरी सर्वसाधारणको उठीबास लगाएको भन्दै अहमदलाई पक्राउ गरी मुद्दा चलाएको थियो।

विराटनगर महानगरपालिका–९ घर भएका अहमदले एक वर्षअघि विराटनगरकै एक ३२ वर्षीय पुरुषलाई १५ लाख रुपैयाँ ऋण लगानी गरी अपहरण शैलीमा लगेर एक करोड १० लाखको छुट्टाछुट्टै चेक बनाएर छाडेको थियो। ‘१७ लाख त उठाई नै सकेको व्यक्तिले अपहरण गरी ५० लाख र ६० लाखका फरक फरक चेकमा हस्ताक्षर गराएको जाहेरी थियो। सोही आधारमा अनुसन्धान गरी कारबाहीका लागि पठाएका थियौं’, जिल्ला प्रहरी कार्यालय स्रोतले भन्यो।

६ पुसमा एजाजलाई घरबाटै पक्राउ गरेको प्रहरीले उनीसहित चार जनाविरुद्ध सरकारी वकिलको कार्यालय मार्फत जिल्ला अदालत मोरङमा ‘आपराधिक लाभ लिएको’ मुद्दा चलाएको थियो।

अहमदको गिरोहमा ३५ वर्षीय युसूफ भनिने फाकिरा शेख, ३२ वर्षीय सावन दास र ३५ वर्षीय तनवीर खान पनि रहेको प्रहरीले फेला पारेको थियो। सबैलाई कारबाही गर्न प्रहरीले मुद्दा चलाएको थियो। छोटो समयमा आर्थिक उत्पात मच्चाएका अहमद समूहले १५ लाख रुपैयाँ ऋण लिएका पुरुषलाई ऋण चुक्ता भएपछि पुनः ४५ लाख ऋण लिएको तमसुक गराएको थियो।

अहमदको समूहले यति मात्र गरेको छैन। वैदेशिक रोजगारीका लागि जानेलाई थोरै ऋण दिएर बर्षौंसम्म पनि रकम असुली गरिरहेको पीडितले बताएका छन्। कतिपयले प्रहरी र प्रशासनसँगको सेटिङका आधारमा यस्तो आपराधिक समूह सक्रिय रहँदै आएको छ। स्रोतले भन्यो,‘उपल्लो तहसम्म सेटिङ मिलाएर सर्वसाधारणलाई सडकमा ल्याउने काममा यो समूह सक्रिय रहेको छ। अपहरण गर्ने, फिरौति माग्नेसम्मको काम हुने गरेको छ।’

कतिपयले फिरौति माग गर्ने बैधानिक तरिकाका आधारमा अहिले तमसुक गराई मिटरब्याजमा लगानी गर्ने क्रम बढेको पनि बताएका छन्। ‘पहिला फिरौति मागिन्थ्यो अहिले त कानुनी रुपमा नै खरानी बनाउनेगरी बाटो रोज्न थालिएको छ, सर्वसाधारणको उठीबास हुन थालेको छ, मिटरब्याजले’, एक सर्वसाधारणले भने।

प्रतिक्रिया