

धङधङीको बाटोतिर प्रचण्ड

काठमाडौं– आफ्नो राजनीतिक विरासत जोगाउन र सरकार गिराउनका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिंसात्मक धङधङीमा हावा भरेका छन्।
नेकपाको औपचारिक विभाजन घोषणा बाँकी हुँदा नै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आन्दोलन बलियो बनाउन घोषणा गरेका उनले शाकाहारी आन्दोलनले नहुने भन्दै त्यसलाई हिंसात्मक बनाउनका लागि सांकेतिक आदेश दिएका हुन्।
युवा र विद्यार्थीका दुई फरक कार्यक्रममा प्रचण्डको उक्त भनाईले युद्धकालिन रणनीति अन्तर्गत नेकपाभित्रको एउटा कित्तामा कब्जा जमाएको र सत्ता कब्जाका लागि सडकको साहरामा पुग्नुपर्ने स्पष्ट पारेको छ।
प्रचण्डको यो रणनीतिबारे प्रधानमन्त्री ओलीले व्याख्या समेत गरेका थिए। एकातिर प्रचण्डले बेजोड रुपमा भाषण गरिरहँदा अखिल नेपाल महिला संघको कार्यक्रममा पुगेका ओलीले यो रणनीति असफल बनाउने भन्दै पूर्वलडाकू र युद्धमा मारिएका परिवार, घाइतेलगायतलाई संरक्षण गर्ने घोषणा पनि गरेका थिए।
‘प्रचण्डले एमाले कब्जा गर्ने नियत राखेका थिए। त्योसँगै सत्ता कब्जा गर्ने उनको नियत पनि छारस्ट भयो। जब सरकारले दुई बर्ष पार गरेको थियो, उनी सत्ता आफूकेन्द्रित बनाउनका लागि अनेक हिसाबले उद्दत भए’, उच्च स्रोतले भन्यो,‘त्यसैको परिणामका रुपमा नेकपाभित्रको यो विग्रह देखा परेको थियो भने त्यसको प्रतिरोधका रुपमा प्रतिनिधि सभा भंगको कदममा ओली पुगेका हुन्।’
प्रचण्डका कारण नै यो नियती आएको भन्ने त उपाध्यक्ष बामदेव गौतमले पनि स्पष्ट पारिसकेका छन्। उनले माधवकुमार नेपालसँग मिलेर ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने बारेको विषयमा आफूलाई जानकारी नै नदिइएको र छापामार शैलीमा ल्याइएको पनि खुलाएका थिए। जसको निन्दा गर्दै उनले अहिलेको अवस्था आइपरेको बताइसकेका छन्।
‘प्रचण्डमा डिभाइड एन्ड रुल भन्ने नीतिको युद्धकालिन धङधङी त स्पष्ट देखियो। अब यीनले सडक आन्दोलनलाई पनि हिंसात्मक बनाउनुपर्छ भनेपछि स्पष्ट भइसकेको छ’, उच्च स्रोतले भन्यो,‘नेपाललाई २५–३० बर्षसम्म अस्थिर हुन नदिने उनको नीतिको नियती जनताले अहिले पनि भोगीरहनु परेको छ।’
कब्जा गर्ने नीतिअन्तर्गत अहिले प्रचण्डले निर्वाचन आयोगलाई समेत धम्क्याएर सूर्य चुनाव चिन्ह आफूलाई दिनुपर्ने सार्वजनिक आह्वान गर्न थालेका छन्। त्यसो नगरिए सडक आन्दोलन तताएर, आँधीबेहरी ल्याएर भए पनि चुनाव चिन्ह लिने उनको चेतावनी थियो। यसको अर्थ हो, आफ्नो पक्षमा निर्णय नभए अस्थिरताका लागि सडक आन्दोलन र हिंसात्मब बाटो रोजिनेछ। योसँगै अदालतमा रहेको प्रतिनिधि सभा विघटनको विचाराधिन विषय पनि आफूअनुकुलमा नै फैसला हुनेगरी आउनुपर्ने प्रचण्डको भनाईमा स्पष्ट देखिएको छ।
अहिलेको अवस्थामा ओलीले गलत गरेको देखिए पनि मुलुकलाई अस्थिर र दुर्घटनामा लैजाने प्रचण्डको तयारी थियो। प्रधानमन्त्री ओलीमाथि अविश्वासको प्रस्ताव पारित गराएर नयाँ प्रधानमन्त्री बन्ने त्यसो नभएको खण्डमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका लागि प्रस्ताव गरी सरकारमा आफ्नो हालीमुहालीलाई बलियो बनाउने प्रचण्डको रणनीति थियो।
यसको संकेत पछिल्लो समय बुढानिलकण्डमा देउवालाई उनले गरेको प्रस्तावले पनि पुष्टि गरेको छ। देउवालाई प्रधानमन्त्रीसहित रोजेको मन्त्रालय दिने तर आन्दोलनमा ओलीविरुद्धको मोर्चाबन्दी कस्नका लागि प्रचण्डको प्रस्ताव थियो। जसलाई देउवाले तत्कालका लागि स्वीकार गर्न नसक्ने भन्दै फर्काइदिए।
योसँगै डा. बाबुराम भट्टराई र उपेन्द्र यादव मार्फत जनता समाजवादी पार्टीलाई पनि प्रचण्डका आकर्षक अफर रहेको उच्च स्रोतको दाबी छ। सोही अफरका कारणले पनि जनता समाजवादीमा अहिले आन्तरिक विवाद र विभाजनको बहस चल्न थालेको छ। ‘प्रचण्डको आनीबानी थाहा पाएका महन्थ ठाकुर, राजेन्द्र महतोलगायतका नेता उपेन्द्र यादवलगायतको चलखेलको विरोधमा छन्’, स्रोतले भन्यो,‘ओलीको विरोध गरे पनि प्रचण्डको भुलभुलैयामा नपर्नका लागि भनिएको छ।’

