

ओली भेट्न बालकोट पुगिन् रेखा

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अभिनेत्री एवं राप्रपा केन्द्रीय सदस्य रेखा थापाबीच भेटवार्ता भएको छ ।
ओली निवास बालकोटमा बुधबार भएको भेटमा राप्रपा महामन्त्री कुन्ती शाही पनि उपस्थित थिइन् । रेखाले समसामयिक राजनीति र चुनावबारे ओलीसँग छलफल भएको बताइन् ।
रेखाले भनिन्, ‘समग्रमा देश र अहिलेको राजनीतिक अवस्थाबारे पार्टीगत कुराकानी भयो । राजनीतिमा छोरीहरुको अवस्थाबारे पनि छलफल भयो । उहाँ अभिभावकजस्तै हो नि त।’
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एमालेले राप्रपासँग तालमेल गर्न सक्ने सम्भावनाको पृष्ठभूमिमा ओलीसँग रेखा र कुन्तीले भेट गरेका छन् । यसबारे पनि कुराकानी भएको रेखाले बताइन् ।

