गण्डकी प्रदेशमा एक वर्षको अवधिमा सात सय आत्महत्या, दुरुत्साहनका केस २० वटा


पर्वत -गण्डकी प्रदेशमा गत आर्थिक वर्षमा आत्महत्या गर्ने संख्या वृद्धि भएको छ।

आर्थिक वर्ष २०७७/७८ मा प्रदेशका ११ जिल्लामा छ सय ४४ ओटा आत्महत्याका घटनाहरू भएकोमा गत आर्थिक वर्षमा २०७८/७९ मा छ सय ९९ ओटा ओटा घटनाहरू भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बताएको छ।

गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक रामदत्त जोशीका अनुसार नवलपरासी ९बर्दघाट सुस्ता पूर्व० मा एक सय २५, कास्कीमा एक सय ६०, स्याङ्जामा ७२, तनहुँमा एक सय १०, गोरखामा ६८, लमजुङमा ३८, मनाङमा एक, बागलुङमा ४५, पर्वतमा ४७, म्याग्दीमा ३१ र मुस्ताङमा दुई ओटा आत्महत्याका घटनाहरू भएका छन्।

प्रहरीले आत्महत्याका प्रकृतिलाई विष खाएर, आगो लगाएर, झुन्डिएर, हाम फालेर, करेन्ट लगाएर, हातहतियार वा औजार प्रयोग गरेर तथा पानीमा हाम फालेर गरी सात प्रकारका आत्महत्याका सूची तयार पारेको छ। जसमा सबैभन्दा बढी आत्महत्या झुन्डिएर गरेको देखिन्छ। एक वर्षमा विष खाएर ४१, आगो लगाएर एउटा, झुन्डिएर छ सय ३२, हाम फालेर २०, हातहतियार वा औजारबाट एउटा र पानीमा हाम फालेर एउटा आत्महत्याका घटना भएका छन्।

जिल्ला अनुसारको विवरणमा कास्की जिल्लामा सबैभन्दा धेरै आत्महत्याका घटनाहरू भएका छन्। प्रहरीका अनुसार कास्कीमा विष खाएर २१ ओटा, झुन्डिएर एक सय ३१ ओटा र हाम फालेर आठ ओटा घटनाहरू भएका छन्। यस्तै नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा विष खाएर सात जनाले, झुन्डिएर एक सय १६ जनाले र हाम फालेर दुई जनाले आत्महत्या गरेका छन्।

स्याङ्जामा विष खाएर चार जनाले, झुन्डिएर ६६ जनाले र हाम फालेर दुई जनाले तनहुँमा विष खाएर दुई जनाले, झुन्डिएर एक सय चार जनाले, हाम फालेर तीन जनाले र हातहतियारको प्रयोगबाट एक जनाले आत्महत्या गरेका छन्।

गोरखामा झुन्डिएर ६६ जनाले र हाम फालेर दुई जनाले, लमजुङमा विष खाएर तीन जनाले, झुन्डिएर ३२ जनाले र पानीमा डुबेर तीन जनाले, मनाङमा एक जनाले झुन्डिएर, बागलुङमा विष खाएर तीन जनाले, झुन्डिएर ४१ जनाले र हाम फालेर एक जनाले, पर्वतमा विष खाएर एक जनाले, आगो लगाएर एक जनाले, झुन्डिएर ४४ जनाले र हाम फालेर एक जनाले आत्महत्या गरेका छन्। यस्तै म्याग्दीमा झुन्डिएर ३० र हाम फालेर एक गरी ३१ जनाले र मुस्ताङमा एक जनाले हाम फलेर तथा एक जनाले पानीमा हाम फालेर गरी दुई जनाले आत्महत्या गरेका छन्।

आत्महत्या गर्न दुरुत्साहन गरेका गरेका २० ओटा मुद्धाहरू प्रहरीमा दर्ता भएका छन्। जसमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा दुई, कास्कीमा तीन, स्याङ्जामा चार, तनहुँमा छ, गोरखामा एक, लमजुङमा एक र बागलुङमा तीन ओटा रहेका छन्।

प्रतिक्रिया