

प्रेस चौतारीका नेता पराजुलीलाई पक्राउ पुर्जी
‘मेरो खातामा कसले पैसा हाल्दियो, थाहै छैन’

काठमाडौं – झापाको दमकस्थित हिमशिखर टेलिभिजनमा आवद्ध भएर उज्यालो खबर डटकम न्युज पोर्टलका कार्यकारी सम्पादक रहेका पत्रकार भूमिराज पराजुलीलाई बैदेशिक रोजगारीमा पठाई दिने भन्दै ठगी गरेको आरोपमा बैदेशिक रोजगार विभागले पक्राउ पूर्जी जारी गरेको छ ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेको जनवर्गिय संगठन प्रेस चौतारी नेपालको ‘माईपश्चिम झापा’का जिल्ला अध्यक्ष समेत रहेका पराजुलीले झापा, मोरङ, इलाम लगायतका जिल्लाका स्थानीयलाई बैदेशिक रोजगारीमा पठाउने नाममा लाखौं ठगी गरेको भन्दै सबुद प्रमाणसहित उजुरी परेपछि उनलाई पक्राउ पूर्जी जारी भएको हो ।
बैदेशिक रोजगार विभागकी अनुसन्धान अधिकृत कृष्णकुमारी भण्डारीले असार २८ गते जिल्ला प्रहरी कार्यालय झापालाई पत्र पठाउँदै कसुरदार नीज पराजुलीलाई पक्राउ गरी स्वास्थ्य परिक्षण गराई विभागमा पठाई दिन आग्रह गर्दै पत्राचार गरेकी थिईन् ।
विभागले जिप्रका झापालाई पत्राचार गरेको तीन सातासम्म पनि कसुरदारलाई पक्राउ नगरेपछि पराजुलीबाट ठगिएका पीडितहरुले मंगलबार इलाका प्रहरी कार्यालय दमकमा गुनासो गरेका थिए । तर, राजनीतिक आड र संरक्षणमा अभियुक्त पराजुली काठमाडौं भागेपछि दमक प्रहरीले घर ठेगानामा पत्ता नलागेको जनाएको छ ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृह नगर दमकमा बसेर पत्रकारिता गर्दै आएका पराजुलीले आफूले कसैलाई पनि गठी नगरेको अनलाईनन्युज७लाई बताए । तर पीडितमध्येका नरेन्द्र तामाङ र गम्भीर भुजेललले गत वर्ष सेप्टेम्वर १ र अक्टोबर १ मा गरी एनआईसी एसिया बैंकमा खाता खोलेका पराजुलीलाई क्रमश ९० हजार र दुई लाख रुपैयाँ जम्मा गरिदिएको भेटिन्छ ।
पत्रकार पराजुलीले १४ जनाभन्दा बढी व्यक्तिबाट लाखौं रुपैयाँ ठगी गरेको उजुरी विभागमा परेको थियो । झापा रहेर पत्रकारिता गरिरहेका पत्रकार पराजुलीलाई खोज्दै प्रहरी उनी कार्यरत सञ्चार संस्था हिमशिखर टेलिभिजनमा पुगेसिछ टेलिभिजनले सेवाबाट बर्खास्त गरेको छ ।
वैदेशिक रोजगार विभागमा असार २० गते पराजुलीविरुद्ध उजुरी परेको र उजुरीका आधारमा विभागले जिल्ला प्रहरी कार्यालय झापालाई पत्राचार गरेको हो । विभागका अनुसन्धान अधिकृत भण्डारीद्वारा हस्ताक्षरित पत्रमा दमक–१० बस्ने ३२ वर्षीय पराजुलीलाई पक्राउ पुर्जी जारी गर्दै निजको मेडिकल गराई विभागमा उपस्थित गराई दिन भनिएको छ ।
पत्रकार पराजुलीले युरोपीयन मुलुक रोमानिया पठाउने भन्दै झापाको दमक, पाँडाजुगी, बिर्तामोड, भद्रपुर, इलाम र मोरङको बेलवारीका १४ जनाभन्दा बढीबाट जनही ३ लाख रुपैयाँसम्म ठगी गरेको पीडितहरुले बताउँछन् ।
पराजुलीले बिर्तामोड–४ स्थित दीपक अधिकारीबाट तीन लाख, शिवसताक्षी–८ निवासी नरेन्द्र तामाङबाट २ लाख ९० हजार, भद्रपुर–२ निवासी नरेश मगरबाट एक लाख ५० हजार, भद्रपुर–२ निवासी केशवकुमार मगरबाट एक लाख ५० हजार, वेलवारी–४ मोरङ निवासी दिनेश धिमालबाट एक लाख ३० हजार, देउमाई–७ इलामका हस्तवहादुर गोलेबाट २ लाख ९० हजार, देवजङ्ग राईबाट एक लाख ४० हजार रुपैयाँ ठगी गरेको बताइएको छ ।
पत्रकार पराजुलीले रोमानिया पठाउने भन्दै शुरुमा एक लाख रुपैयाँ लिने र पछि थप दुई लाख रुपैयाँ उठाउँदै आएका थिए । रोमानियामा किचन हेल्परका लागि पठाउने भन्दै उनले शुरुमा पेश्की स्वरुप एक लाख रुपैयाँ लिएको र पछि वर्क पर्मिट आएको भन्दै थप दुई लाख गरी तीन लाख रुपैयाँ लिएको पीडित दिपक अधिकारी बताउँछन् ।
पत्रकार पराजुलीले रोमानिया पठाउने भन्दै धेरैलाई घरमै बोलाएर इन्टरभ्यू समेत लिने गरेका थिए । इन्टरभ्यूपछि रोमानियाको भिषा पक्का भयो भन्दै रकम लिने गरेको बताइएको छ । पराजुलीका नाममा विभिन्न वैंकबाट रकम भुक्तानी गरेको कागजात र वैदेशिक रोजगार विभागको पत्रसहित पराजुलीलाई पक्राउ गरिनुपर्ने मागसहित सोमवार पीडित भनिएकामध्ये सात जना इलाका प्रहरी कार्यालय दमक पुगेका थिए ।
पत्रकार पराजुलीले आफ्ना दाजु रोमानियामा रहेको र उनीहरुसँग विदेश जान चाहनेले नै डिल गरेर आफ्नो खातामा पैशा हालिदिएको दाबी गर्छन । रोमानिया पठाउने वहानामा पत्रकार पराजुलीले २०७८ साउनमा विभिन्न व्यक्तिबाट मोटो रकम लिएको र लामो समयसम्म उनीहरुलाई रोमानिया नपठाई अल्मल्याउँदै राखेपछि नरेन्द्र तामाङ लगायतले वैदेशिक रोजगार विभागमा उजुरी गरेका थिए ।
पत्रकार पराजुलीले आफ्नो खातामा क कसले कति कति पैशा हालिदिएको भन्ने जानकारी नभएको भन्दै आफूबिरुद्ध विभागमा मुद्दा हाल्नेहरुको रकम आफू फिर्ता गर्न तयार भएको बताए । उनले आफू बुधबार काठमाडौं आएको र विभागमा बयान दिई सकेकाले मिलापत्र हुन लागेको बताए ।
पराजुलीले भने, ‘मेरो खातामा कसले किन पैशा हालेको भन्ने कुरा मैले थाहा पाईँन । तर म त्यो रकम तिर्छु ।’
उता पराजुली कार्यरत झापाको हिमशिखर टेलिभिजनले उनलाई मंगलबारदेखि नैं लागू हुने गरी अवकास दिएको छ । यस सम्वन्धमा प्रेस चौतारी नेपालले हालसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

