पत्रकारलाई अध्यक्ष ओलीको आग्रह-निडर भएर कलम चलाउनुहोस्


झापा – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश र जनताको पक्षमा निडर भएर कलम चलाउन पत्रकारहरूलाई आग्रह गरेका छन् ।

बुधवार दिउँसो झापाको बिर्तामोडमा प्रेस चौतारी आबद्ध पत्रकारसँगको भेटघाट कार्यक्रममा उनले देशमा असत्य, छलकपट र षड्यन्त्र हाबी हुँदै गएको दाबी गर्दै सत्यको पक्षमा लेख्न प्रेस जगत्लाई आह्वान गरे ।

उनले भने, ‘बेथितिलाई रोक्न सत्यका पक्षधर कलमकर्मी निडर भएर मैदानमा उत्रिनुपर्छ ।’ एमालेलाई एक्ल्याउने निषेधको राजनीति नेपालमा भइरहेको उनको आरोप थियो ।

उनले यो देश गठबन्धनको मात्र हो जस्तो भइरहेको टिप्पणी गरे । अध्यक्ष ओलीले सञ्चारकर्मीले देश, जनता र लोकतन्त्रप्रति बफादार भएर सत्य लेखिदिन आग्रह गरे ।

पूर्वजले ज्यान दिएर जोगाएको देश र जनताको बलिदानबाट प्राप्त लोकतन्त्रको रक्षाका लागि पत्रकार जगतले संवेदनशील, सचेत र दृढ भएर कलम चलाउनुपर्नेमा उनको जोड थियो ।

‘हाम्रा पुर्खाले ज्यान दिएर देश बचाए, हामी देशका लागि बोल्न पनि डराउँछौं भने बेठीक हुन्छ । लोकतन्त्र हामीले जेलनेल खटेर ल्याएको प्रणाली हो,’ उनले भने ।

प्रतिक्रिया