नेपाली कांग्रेसको जनसम्पर्क समिति दक्षिण कोरियामा विवाद
काठमाडौं – नेपाली कांग्रेसको प्रवास संगठन जनसम्पर्क समिति दक्षिण कोरियामा विवाद चर्किको छ । समितिको संस्थापन पक्षले पार्टीको केन्द्रीय विधान विपरित १० जुलाईमा विधान अधिवेसन गरेको भन्दै असन्तुष्ट पक्ष विरोधमा उत्रिएको हो ।
६ महिना अघि निर्विरोध निर्वाचित अध्यक्ष भजिन्द्र क्षेत्रीले एकलौटी ढंगबाट विधानमा उल्लेख नै नभएको विधान अधिवेसन गरेकाले उक्त संसोधित विधान खारेजीको माग गरिएको निवर्तमान प्रवक्ता सिताराम तिमल्सिनाले जानकारी दिए ।
असन्तुष्ट पक्षले जुलाई २४ का दिन कोरियाको राजधानी सिओलमा छुट्टै भेलाको आयोजना गरेर दबाबलाई थप ससक्त पार्ने जनाएको छ । १० गते गरिएको विधान अधिवेशनमा बहुमत महाधिवेशन प्रतिनिधिको उपस्थिती विनै गैरकांग्रेसीहरु सहभागि गराएर विधान संसोधन गरिएको असन्तुष्ट पक्षको आरोप छ ।
२४ जुलाईका दिन छुट्टै भेलाको आयोजना गरेको उक्त पक्षले आफ्नो माग सुनुवाई नभए केन्द्रमा निवेदन दिने तयारी गरेको तिमल्सिनाले बताए। यता समिती सभापति भजिन्द्र क्षेत्रीले ६ महिना पहिले अधिवेशन हलबाटै पारित गरिनुपर्ने संसोधित विधान विवादका कारण रोकिँदै आएकोमा अहिले पारित गरिएको बताए ।
उनले जनसम्पर्क समिति कोरियामा १ सय ५९ महाधिवेशन प्रतिनिधि रहेकामा जुम र प्रत्यक्ष गरी १ सय जना प्रतिनिधिको उपस्थिती र सहमतिमा विधान पारित गरिएको दाबी गरे । केन्द्रले प्रवास संगठनकालागि विधानमा तोकेका विषय र कोरियाको समितिको विधानमा रहेका विषय बाझिएकाले विधानमा एकरुपता ल्याउन विधान संसोधन गर्नुपरेको क्षेत्रीको भनाई छ ।
केन्द्रको विधानमा प्रवास संगठनको कार्यकाल ३ वर्ष तोकिएको तर कोरियाको विधानमा २ वर्ष मात्र रहेको लगायत अन्य विषय पनि संसोधन गर्नु अपरिहार्य रहेकाले गरिएको अध्यक्ष क्षेत्रीले बताए । उनले आफूले केन्द्रका नेताहरुको सल्लाह र सहमति मै उक्त अधिवेशन सम्पन्न गरेको बताए । समितिले विज्ञप्ति प्रकाशित गर्दै कोरियामा जनसम्पर्क समिति एउटामात्र भएकाले अन्य समुहले संस्थाको लागो प्रयोग गरी भेला गरेको पाइए कानुनी कारवाही गर्ने चेतावनी पनि दिएको छ ।