विमला वली प्रकरण : आवेगात्मक कमजोरीले घटना घटेकाे छानबिन समितिकाे निष्कर्ष


बुटवल – लुम्बिनी प्रदेशकी तत्कालीन स्वास्थ्य राज्यमन्त्री विमला वलीसँग सम्बन्धित घटना आवेगात्मक कमजोरीले भएको छानबिन समितिले निष्कर्ष निकालेको छ । राज्यमन्त्री वलीले जेठ ३१ गते दाङ तुलसीपुरस्थित प्रेमी भनिने एकराज बस्नेतको घरमा गएर उनकी श्रीमती मीना भण्डारी र छोरीलाई कुटपिट गरेकी थिइन् ।

घटनामा राज्यमन्त्रीको हैसियतमा गरिएको विवादले विमलाको पनि कमजोरी रहेको उल्लेख गरिएको छ । उनले आवेगमा आएर बस्नेतको घरमा पुगेर मर्यादाविपरीत काम गरेको छानबिन समितिले ठहर गरेको हो । घटनापछि लुम्बिनी प्रदेशको मन्त्रिपरिषद्को बैठकले आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माको संयोजकत्वमा छानबिन कार्यदल गठन गरेको थियो ।

कार्यदलले शनिवार प्रतिवेदन मुख्यमन्त्री कूलप्रसाद केसीलाई बुझाएको छ । प्रतिवेदन बुझाउँदै शर्माले राज्यमन्त्री वलीलाई विवादमा पार्न नियोजित जस्तो देखिएको र वलीको कमजोरी समेत भएको बताए ।

‘प्रदेश सरकारको माननीय राज्यमन्त्री जस्तो व्यक्ति कुनै विवाहित व्यक्तिको घरमा गई निजको श्रीमती र बालबालिकासँग विवाद गर्नु पदीय मर्यादाअनुसार कमजोरी देखिन्छ,’ शर्माले भने, ‘तर घटनास्थलमा असम्बन्धित व्यक्तिहरूको भीड जम्मा भई अतिरञ्जित गर्ने कार्य भएको हुँदा घटना सुनियोजित हो कि शंका गर्ने आधार देखिन्छ ।’

वलीले असार २१ गते घटनाको सहजीकरणका लागि भन्दै राज्यमन्त्री पदबाट राजीनामा दिएको कुरा मुख्यमन्त्री कूलप्रसाद केसीले सदन समक्ष जानकारी गराएका थिए ।

प्रतिक्रिया