करेन्ट लागेर विभिन्न स्थानमा ४ जनाको मृत्यु


काठमाडाैं – देशका विभिन्न ठाउँमा करेन्ट लागेर चार जनाको मृत्यु भएको छ । उदयपुर, त्रियुगा नगरपालिका-३ मोतिगडा बस्ने २६ वर्षीय अजय मल्लिकको करेन्ट लागेर शुक्रबार साँझ मृत्यु भएको छ ।

सोही ठाउँस्थित गुहे खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा आफैंलाई करेन्ट लाग्दा बेहोस भएका उनको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

धनुषा, जनकनन्दनी गाउँपालिका-६ कठाल बस्ने ३६ वर्षीय पशुपति साह बनियाको शुक्रबार साँझ करेन्ट लागेर मृत्यु भएको छ । सोही ठाउँ बस्ने सरोज साह बनियाको घरको छानोको अलबेस्टर छाउने क्रममा करेन्ट लागेर छानोबाट लड्दा गम्भीर घाइते भएका उनको उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

रसुवा, नौकोण्ड गाउँपालिका-३ स्थित नौकुण्ड गाउँपलिकको कार्यालयमा नेटको तार जोडने क्रममा करेन्ट लागेर गोरखा आरुघाट गाउँपालिका-४ घर भएका २० वर्षीय प्रेम बरामको शुक्रबार साँझ मृत्यु भएको छ । करेन्ट लागेर गम्भीर घाइते भएका उनको त्रिशुली अस्पताल नुवाकोटमा उपचारको क्रममा मृत्यु भएको हो ।

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-३ तातोपानी डेरा गरी बस्ने कालिकोट पलाता गाउँपालिका-९ घर भएकी ३४ वर्षीया हजुरा बमको करेन्ट लागेर शनिबार बिहान मृत्यु भएको छ ।

छतमा रहेको सरिया निकाल्ने क्रममा बिद्युतको तारमा सरियाले छुँदा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया