

विनोद मृत्यु प्रकरण : न्यायको माग गर्दै ४ दलद्वारा चरणबद्ध आन्दोलनकाे घोषणा

अछाम – अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ४ कालिकास्थानका १६ वर्षीय किशोर विनोद शाहीको न्यायको माग गर्दै नगरका ४ वटा राजनीतिक दलले विज्ञप्ति सार्वजनिक गरेका छन् ।
किशोरको हत्या भएको दाबी गर्दै जिल्ला प्रहरी कार्यालयमा आफन्तजनले किटानी जाहेरी दिँदासमेत आरोपितलाई पक्राउ नगरेको भन्दै दलहरूले संयुक्त रूपमा विज्ञप्ति निकालेका हुन् ।
नेकपा एमाले नगर कमिटीका इन्चार्ज भीम बहादुर बिस्ट, नेकपा माओवादी केन्द्रका जिल्ला सचिवालय सदस्य तथा नगर अध्यक्ष अमर बिक, नेकपा एकीकृत समाजवादीका जिल्ला कमिटी सदस्य वीरेन्द्र शाही र नेकपा (विप्लव) का नगर इन्चार्ज सर्जन धामीद्वारा हस्ताक्षरित संयुक्त विज्ञप्तिमार्फत उनीहरूले आरोपितलाई तत्काल पक्राउ गरी कारबाहीको प्रक्रिया सुरु नगरे चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
आन्दोलनका कार्यक्रमअनुसार यही असार २ गते विरोध र्याली गर्ने, ३ गते जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने, ४ गते जिल्ला प्रशासन कार्यालयमा अनसन सुरु गर्ने र ५ गते सिटी र्याली गर्ने कार्यक्रम रहेका छन् ।
घटना भएको हप्ता दिन बितिसक्दा समेत आरोपितलाई नियन्त्रणमा लिन नसकेको भन्दै स्थानीयले अछाम प्रहरीको कार्यक्षमतामाथि प्रश्न उठाउन थालेका छन् भने मृतकका आफन्तले न्याय पाउनेमा समेत आशङ्का गर्न थालेका छन् ।

