नेपाल टी-२० लिगका लागि सञ्चालक परिषद् गठन


काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले पहिलो पल्ट आयोजना गर्न लागेको फ्रेञ्चाइज क्रिकेट लिग नेपाल टी-२० का लागि सञ्चालक परिषद् (गभर्निङ काउन्सिल) गठन गरेको छ। कार्यवाहक सचिव प्रशान्तविक्रम मल्ल निर्देशक रहने गरी ५ सदस्यीय सञ्चालक परिषद् गठन भएको क्यानले बुधबार जारी गरेको वक्तव्यमा उल्लेख छ।

समितिको सदस्यमा भारतीय पूर्वक्रिकेटर तथा भारतीय क्रिकेटर संघका वर्तमान अध्यक्ष अशोक मलहोत्रा, क्यानका सदस्य दुर्गाराज पाठक र क्यानका जनसम्पर्क समितिका संयोजक भानुभक्त सिग्देल छन्। त्यस्तै, लिगको रणनीतिक तथा व्यवसायिक साझेदार सेभेन थ्री स्पोर्टसबाट जतिन अहलुवालिया सदस्य रहेको वक्त्व्यमा उल्लेख छ।

क्यान र सेभेन थ्री स्पोर्टसबीचको सम्झौताअनुसार ५ सदस्यीय सञ्चालक परिषद्मा दुवै पक्षबाट क्रमसः ३ र २ जना रहने उल्लेख रहेको सचिव मल्लले जानकारी दिए। क्यान आफैंले आयोजना गर्न लागेको नेपाल टी-२० लिग असोज ८ देखि कात्तिक ५ गतेसम्म काठमाडौंमा आयोजना हुने तय भएको छ।

प्रतिक्रिया