बालश्रम, बाध्यात्मक श्रम उन्मूलन गर्न नेपाल सरकार प्रतिबद्ध


काठमाडाैं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सबै प्रकारका बालश्रम, बाध्यात्मक श्रम, मानव बेचबिखन तथा आधुनिक दासत्व पूर्णरूपमा उन्मूलन गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

स्वीट्जरल्याण्डको जेनेभामा जारी ११० औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनलाई आज ‘भर्चुअल’ रूपमा सम्बोधन गर्दै उनले सन् २०२५ सम्ममा सबै प्रकारका बालश्रम उन्मूलन गर्ने लक्ष्यका साथ सरकारले काम गरिरहेको बताए ।

आप्रवासनसम्बन्धी विश्वव्यापी समझदारीपत्रको भावनाअनुसार नेपालले नीति निर्माण अगाडि बढाइरहेको जानकारी दिँदै उनले गन्तव्य तथा सम्बद्ध मुलुकले आप्रवासी कामदारको मानवअधिकार तथा समानताको सुनिश्चितता गराउनुपर्नेमा जोड दिए । मन्त्री श्रेष्ठले रोजगारी सिर्जना, सामाजिक सुरक्षा तथा औद्योगिक सुरक्षाको बारेमा नेपालले गरिरहेको प्रयासबारे सम्मेलनलाई जानकारी गराएका थिए ।

नेपालले सन् २०१८ मा योगदानमा आधारित सामाजिक सुरक्षा योजना अगाडि बढाएको जनाउँदै उनले श्रमिक तथा उनीहरुको परिवारको कामसँगसम्बन्धी जोखिम न्यूनीकरण सम्बन्धमा सामाजिक सुरक्षा योजना महत्वपूर्ण कदम रहेको बताए।

सीमान्तकृत तथा बेरोजगार नागरिकलाई केन्द्रमा राखी सुरु गरिएको प्रधानमन्त्री रोजगार कार्यक्रमले अनौपचारिक क्षेत्रमा रहेका श्रमिक र महामारीमा रोजगारी गुमाएकालाई पनि केही मात्रामा सहयोग पुर्‍याएको उनको भनाइ थियो ।

प्रतिक्रिया