
दुई जिल्लामा कांग्रेसको बहुमत, ५ जिल्लामा एमालेभन्दा माओवादी बलियो
बागमती प्रदेशको १० जिल्लामा कांग्रेस र चितवन र रसुवामा एमाले बलियो
काठमाडौं – स्थानीय तहको निर्वाचनको बागमति प्रदेशमा सम्पूर्ण मत परिणाम सार्वजनिक हुँदा नेपाली कांग्रेसको पकड सबैभन्दा मजबुद देखिएको छ । नेपाली कांग्रेस एक्लैले काठमाडाैं र ललितपुर जिल्लामा एक्लै बहुमत ल्याएको छ भने काभ्रे र रसुवामा एक्लै ५० प्रतिशत स्थानीय तहको प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष जित्न सफल भएको छ ।
चितवनका स्थानीय तहमा एमाले एमाले एक्लै ५० प्रतिशत जनप्रतिनिधि जिताउन सफल भएको छ भने उसले रसुवा जिल्लामा नेपाली कांग्रेसकै बराबर संख्यामा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष जिताउन सफल भएको छ । दोलखामा एमाले पहिलो शक्तिको रुपमा स्थापित भए पनि बहुमत भने छैन ।
मकवानपुर,रामेछाप, सिन्धुली, सिन्धुपाल्चोकमा, दोलखामा गठबन्धनमा आबद्ध नेपाली कांग्रेस र माओबादीको स्पस्ट बहुमत रहेको छ । भक्तपुर जिल्लामा भने नेपाल मजदुर किशान पार्टी निर्णायक देखिएको छ । काठमाडौं र रसुवामा माओबादी केन्द्रले एउटा पनि नगर प्रमुख–उपप्रमुख, गाउँपालिका अध्यक्ष–उपाध्यक्ष जित्न सकेन ।
नेकपा एमालेले नुवाकोट जिल्लाको १२ स्थानीय तहमा किस्पाङ गाउँपालिको अध्यक्ष मात्र जितेर चित्त बुझाएको छ भने धादिङ जिल्लाका १३ स्थानीय तहमध्ये थाक्रे र गल्छी २ गाउँपालिका अध्यक्ष मात्र जिताउन सकेको छ । काभ्रेमा एमालेले धुलीखेल नगरपालिकाको मात्र प्रमुख जितेको छ भने तीन जना उपप्रमुख र उपाध्यक्ष जिन्न सक्यो । काभ्रे एमाले नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाको गृह जिल्ला हो ।
माओबादी केन्द्रले सिन्धुली, धाािदङ, काभ्रे र मकवानपुर जिल्लामा एमालेको भन्दा बढी स्थानीय तहमा जित हासिल गरेको छ भने नुवाकोटमा सबैभन्दा ठूलो दल बनेको छ ।
सिन्धुली जिल्लाको दुई नगरपालिका र सात गाउँपालिकामध्ये कांग्रेसले एक नगरमा प्रमुख र उपप्रमुख, २ गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा अर्को गाउापालिकामा उपाध्यक्ष जितेको छ । माओबादी केन्द्रले भने ४ स्थानीय तहको प्रमुख–अध्यक्ष र २ जना उपाध्यक्ष जिताउन सफल भएको छ । सिन्धुलीमा एमालेले एउटा नगरपालिकामा उपप्रमुख र दुई गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पद जितेको छ ।
रामेछापका २ नगर र ६ गाउँपालिकामध्ये कांग्रेसले एउटा नगरपालिकाको प्रमुख र उपप्रमुख र दुई गाउँपालिका अध्यक्ष र तीन उपाध्यक्षमा जितेर जिल्लामा पहिलो दल बनेको छ । रामेछापमा एमालेले १ नगरपालिकामा प्रमुख र उपप्रमुख तथा दुई गाउँपालिकामा अध्यक्ष र १ उपाध्यक्ष जितेको छ ।
दोलखामा एमालेले एक नगरप्रमुख र एक गाउँपालिका अध्यक्ष मात्र जिते पनि ५ जना उपप्रमुख र उपाध्यक्ष जिताउन सफल भएको छ । तर दोलखामा कांग्रेस एक्लैले एक नगरपालिका र ३ गाउँपालिका अध्यक्ष र २ उपाध्यक्ष जिताउन सफल भएको छ । दोलखामा माओबादी केन्द्रले तीन अध्यक्ष र १ उपाध्यक्ष जितेको छ भने नेकपा (एस)ले एक अध्यक्षमा जित हासिल गरेको छ ।
सिन्धुपाल्चोकको ३ नगरपालिका र ९ गाउँपालिकामध्ये कांग्रेसले २ नगर प्रमुख र तीन गाउँपालिका अध्यक्षसहित ६ जना उपाध्यक्ष जिताएर जिल्लामा ठूलो दलको हैसियत देखाएको छ । यहाँ माओबादी केन्द्रले एक नगरपालिका र तीन गाउँपालिका अध्यक्ष जितेको छ तर उपप्रमुख तथा उपाध्यक्ष एउटा पनि जितेको छैन । गठबन्धनमा आवद्ध नेकपा एसले भने एउटा नगरपालिको उपप्रमुखमा चित्त बुझाएको छ । एमालेले यो जिल्लाका तीन अध्यक्ष र उपाध्यक्ष तथा २ उपप्रमुख जिताउन सफल भएको छ ।
रसुवामा भने कांग्रेसले तीन गाउँपालिका अध्यक्ष र दुई उपाध्यक्ष जिताएको छ । पाँच वटा गाउँपालिका रहेको रसुवामा एमालेले भने २ जना अध्यक्ष र ३ जना उपाध्यक्ष जिताएको छ ।
धादिङ जिल्लाका २ नगरपालिका ११ गाउँपालिकामध्ये नेपाली कांग्रेसले एक नगरपालिकाको प्रमुख र उपप्रमुख तथा ६ गाउँपालिकाको अध्यक्ष र ४ गाउँपालिका उपाध्यक्ष जिताएको छ । माओबादी केन्द्रले भने ४ जना प्रमुख–अध्यक्ष र ४ जना उपाध्यक्ष जिताएको छ । धादिङका दुई वटा स्थानीय तहको प्रमुख मात्र एमालेले जितेको छ । यहाँ नेकपा एसले भने १ नगर प्रमुख र ३ उपाध्यक्षमा जित हासिल गरेको छ । एमाले भन्दा एस यो जिल्लामा बलियो देखिएको छ ।
नुवाकोटका २ नगरपालिका र १० गाउँपालिकामध्ये नेकाले एक नगरप्रमुख र ६ गाउँपालिकाको अध्यक्ष जितेको छ भने चार जना उपप्रमुख–उपाध्यक्ष जिताएको छ । माओबादी केन्द्रले भने चार प्रमुख–अध्यक्ष पदमा विजय हासिल गर्दा नेकपा एमालेले भने एउटा मात्र गाउँपालिका जितेको हो ।
काठमाडौं जिल्लाको एक महानगरपमालिकामा स्वतन्त्र उम्मेदवारले जिते पनि वाँकी १० नगरपालिकामध्ये ७ वटाको प्रमुखमा कांग्रेस, २ मा एमाले र एकमा राप्रपाले मेयर जितेको छ । यहाँ माओबादी केन्द्र र नेकपा एसले एउटा पनि स्थानीय तहको नेतृत्वमा जित हासिल गर्न सकेको छैन ।
ललितपुरका ६ स्थानीय तहमध्ये कांग्रेसले एक महानगर र एक नगरको प्रमुख तथा २ गाउँपालिकाको अध्यक्ष गरी बहुमत जनप्रतिनिधि जिताएको छ । एमालेले ललितपुरको एक नगर र एक गाउँपालिकाको प्रमुख–अध्यक्ष जितेको छ भने महानगरको उपप्रमुख जितेको छ । ललितपुरमा माओबादी केन्द्रले भने २ वटा गाउँपालिकाको उपाध्यक्षमा चित्त बुझाएको छ ।
भक्तपुरको कुल ४ वटा नगरपालिकामध्ये २ वटामा कांग्रेस र १–१ वटा नगरमा एमाले र नेपाल मजदुर किसान पार्टीले जितेका छन् । यहाँ नेमकिपाको समर्थनमा मात्र जिल्ला समन्वय समिति निर्माण हुने देखिन्छ । यहाँ नेमकिपा निर्णाय शक्ति हो ।
काभ्रेका ६ नगरापलिका र ७ गाउँपालिकामाध्ये कांग्रेसले ४ नगरप्रमुख र ३ गाउँपालिका अध्यक्ष तथा २ उपप्रमुख र ३ उपाध्यक्ष जितेर बहुमत स्थानमा विजय हासिल गरेको छ । काभ्रेमा एमालेले एउटा मात्र नगर प्रमुख जितेको छ भने तीन नगर उपप्रमुखमा चित्त बुझाउनु परेको छ । काभ्रेमा माओबादी केन्द्रले ४ अध्यक्ष, १ प्रमुख तथा १–१ वटा उपप्रमुख र उपाध्यक्ष जितेको छ । नेकपा एसले एउटा नगरप्रमुखमा चित्त बुझाएको छ ।
मकवानपुरमा कांग्रेस एक्लैले पाँच गाउँपालिका अध्यक्ष जितेको छ भने २ नगर उपप्रमुख र २ उपाध्यक्ष पनि हात पारेको छ । यहाँ माओबादी केन्द्रले २ जना प्रमुख–अध्यक्ष जिताए पनि ५ उपाध्यक्षमा जित हासल गरेको छ । गठबन्धनको दल नेकपा एसले भने हेटौडा उपमहानगरको प्रमुख नै जितेको छ ।
चितवनका ७ वटा स्थानीय तहमध्ये कांग्रेसले २ नगर प्रमुखमा जित हासिल गरेको छ । यहाँ एमालेले तीन प्रमुख–अध्यक्ष जितेको छ भने माओबादी केन्द्रले भरतपुर महानगरको प्रमुखमा जित हासिल गरेको छ । यहाँ एमालेले ४ नगर र गाउँपालिका उपप्रमुख र उपाध्यक्ष जितेको छ । चितवनमा एक महानगर, एक गाउँपालिका र ५ नगरपालिका छन् ।



लिलाराज खनाल |
