संघीय र प्रदेश संसदको निर्वाचनमा पनि गठबन्धन : कांग्रेस सहमहामन्त्री


काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री बद्री पाण्डेले यही वर्ष हुने संघीय संसद र प्रदेश संसदको निर्वाचनमा समेत सत्तारुढ दलबीच गठबन्धन गरेर जानु पर्ने बताएका छन् ।

नेपाल प्रेस युनियनको ३१औं स्थापना दिवसको अवसरमा महाधिवेशन सुनिश्चितताको लागि भन्दै युनियनको असन्तुष्ट समूहद्वारा शुक्रबार राजधानीमा आयोजित विशेष भेलालाई संवोधन गर्दै सहमहामन्त्री पाण्डेले स्थानीय तहको निर्वाचनमा अन्य दलसँग तालमेल गरेको कांग्रेसले आगामी मंसिरमा हुने संघीय र प्रदेश संसदको निर्वाचनमा समेत गठबन्धन गरेरै जानु पर्ने बताएका हुन् ।

लोकतान्त्रिक मुलुक संयुक्त राज्य अमेरिकामा राष्ट्रपतिको निर्वाचन र भारतमा संसद र प्रदेशको आवधिक निर्वाचन तथा जेसिज जस्तो संस्थामा पत्येक एक वर्षमा तोकिएकै समयमा अधिवेशन हुने भन्दै नेपालमा पनि संघीय संसद र प्रदेशको निर्वाचन निर्धारित समयमै सम्पन्न गर्न पूर्बतयारी गर्नु पर्ने बताए ।

स्थानीय तहको निर्वाचनमा कांग्रेसको मतले समेत विजयी भएका माओबादी केन्द्र, जसपा र नेकपा एसका जनप्रतिनिधिलाई अब कांग्रेसको पक्षमा मतदान गराउने वातारण बनाए कांग्रेसले आगामी संसदीय निर्वाचनमा अहिलेको भन्दा बढी सफलता पाउने दाबी पाण्डेले गरे ।

सहमहामन्त्री पाण्डेले माओबादी केन्द्रले संसदीय निर्वाचनमा कांग्रेससँग गठनबन्धन गरेमा उसले आफ्नो छुट्टै पहिचान र शक्ति प्राप्त गर्न सक्ने भन्दै एमालेसँग पुनः गठबन्धन गरेमा आफ्नो पहिचान नै समाप्त हुने चेतावनी दिए ।

स्थानीय तहको निर्वाचनमा कांग्रेसले सन्तोषजन परिणाम ल्याउन सफल भएको जनाउँदै सहमहामन्त्री पाण्डेले उम्मेदवार चयनमा कमजोरी, गठबन्धन घोषणामा ढिलाई र असन्तुष्ट पार्टी कार्यकर्ताको असहयोगका कारण पार्टीले थप सफलता लिन नसकेको बताए ।

नेपाली कांग्रेसले आफ्ना भ्रातृ संस्था र शुभेच्छुक संस्थाको नियमित महाधिवेशन गर्न नसक्नु दुःखद भएको जनाउँदै पाण्डेले नेपाल प्रेस युनियनको महाधिवेशन सहमतिको आधारमा तत्काल गर्नु पर्ने धारणा राखे ।

प्रत्येक तीन वर्षमा हुनु पर्ने नेपाल प्रेस युनियनको महाधिवेशन विगत ९ वर्षदेखि हुन नसकेको भन्दै युनियनका बरिष्ठ उपाध्यक्ष दिपक आचार्यको सभापतित्वमा भएको भेलामा युनियनका संस्थापक अध्यक्ष हरि अधिकारी, संस्थापक सदस्यहरु तारानाथ दाहाल, शोभकार पराजुली, युनियका अध्यक्ष रमेश तुफान, कुलचन्द्र वाग्ले लगायतले युनियनका अध्यक्ष बद्री सिग्देलले आफ्नो स्वार्थसिद्ध गर्नको लागि युनियनको ६ वर्षदेखि महाधिवेशन नगरी बसेको आरोप लगाए ।

 

प्रतिक्रिया